विराटनगर / उच्च अदालत विराटनगरले दश करोड भन्सार राजस्व अपचलन गर्ने मुख्य आरोपी एजेण्ट सुरेश बोहोरा र दुई कर्मचारीलाई कैद सजायसहित करोडांै रुपैयाँ जरिवाना असुल गर्ने फैसला गरेको छ ।

उच्चअदालत विराटनगरका कामु न्यायाधीश शिवराम अधिकारी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले १७ वैशाखमा एजेण्ट बोहोरालाई डेढ महिना कैदसहित ४ करोेड ८० लाख ७७ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । त्यस्तै कर्मचारीहरू तोर्णराज राउत र विष्णुप्रसाद न्यौपानेलाई २२ दिन कैद सहित जनही २ करोड ४० लाख ३८ हजार ७५० रुपैया जरीवना गर्ने फैसला अदालतले गरेको छ ।

विराटनगर भन्सार सुख्खा बन्दरगाहाभित्र रहेको वाणिज्य बैङ्क शाखामार्फत एजेन्ट बोहोराले कर्मचारीसँग मिलेर दश करोड भन्सार राजस्व अपचलन गरेका थिए । अरोपी एजेन्ट सुरेश बोहोराका प्रतिनिधि रहेका भाइ ललित बोहोरालाई भने अदालतले सफाइ दिएको छ ।

ढाकछोप गर्न खोजिएको उक्त अपराध १ फागुन २०७४ मा सार्वजनिक भएपछि मुख्य आरोपी विराटनगर–७ निवासी एजेन्ट सुरेश र प्रतिनिधि रहेका उनका भाई ललित बोहोरा फरार थिए । विराटनगर भन्सार सुख्खा बन्दरगाहा काउण्टरका सहायक तोर्ण राउतलाई र शाखा प्रमुख अधिकृत विणुप्रसाद निरौलालाई मोरङ प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको थियो ।

बैङ्किङ कसुर आरोपमा उच्चअदालत विराटनगरले पहिले उनीहरूलाई ४ करोड धरौटी माग गरेको थियो । बुझाउन नसकेपछि जेल चलान भएका उनीहरूले सर्वोच्चमा अपिल गरेका थिए । सर्वोच्चले धरौटी कम गरेपछि उनीहरू जेथा जमानी राखेर जनही ७५ लाख धरौटीमा छाडिएका थिए ।

एजेन्ट बोहोरा र उनका प्रतिनिधिले बैङ्कका कर्मचारीको मिलेमतोमा गुडफर पेमेण्ट र मनेजर चेकको साटो एकाउण्ट पेयी बाउन्सचेक दिएर विराटनगर भन्सारको राजस्व अपचलन गरेका थिए । सबै काम बैङ्कमार्फत् हुने भएकोले विराटनगर भन्सारको राजस्वमा कुनै असर नपरेकोले राजस्व अपचलन घटना गुपचुप रहेको थियो । तर लामो समयसम्म अपचलन गरेको रकम दाखिला नभएपछि आन्तरिकमा खैलबैला मच्चिएको थियो ।