धरान/ मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ सुनसरीको धरानमा विशेष प्रदर्शन हुने भएको छ । मौसम इम्बुङद्वारा निर्देशित चलचित्र ‘घरजम’ कात्तिक ९ गते धरानस्थित गणेश टाकिजमा प्रदर्शन हुने भएको हो । नवीन सुब्बाको निर्देशनबाट प्रभावित निर्देशक मौसमले यसअघि चेसुङलगायत आधा दर्जन चलचित्र, टेलिचलचित्र, डकुमेण्ट्री, डेढदर्जन बढी म्यूजिक भिडियो बनाइसकेका छन् ।

बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले धरानमा विशेष प्रदर्शन गर्ने जानकारी दिएकोे हो । पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक इम्बुङले ‘घरजम’ मा लिम्बू समाजको कथालाई नेपालीशैलीमै प्रस्तुत गरिएकाले दर्शकले मन पराउने दाबी गरे । चल्तीका स्टार कलाकार बिना नै तयार भएको उक्त चलचित्रमा भएको पूर्वेली स्वादको कमेडी कथा र कलाले दर्शक आकर्षित गर्ने दाबी निर्देशक इम्बुङको छ ।

नेपाली दर्शकले चलचित्रमा आफ्नोपन खोजिरहेको अवस्थामा निर्माण गरिएको ‘घरजम’ ले दर्शकको चाहना पूरा गर्ने उनको भनाइ रहेको छ । क्यारेक्टरलाई आधार मानेर बनाइएका चलचित्रहरूले ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ’ भन्ने मानक स्थापित गर्न खोजिरहेको बेला ‘घरजम’ ले एउटा इँटा थप्ने काम गरेको निर्देशक इम्बुङको दाबी रहेको छ ।

चलचित्रका निर्माता तथा कलाकार सीताकुमारी तुम्बापोले आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग स्वदेश तथा विदेशमा रहेका सन्ततीलाई परिचित गराउन कला क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम रहेकाले चलचित्र निर्माण गरिएको बताइन् । हालका चर्चित स्क्रिप्ट राइटर उपेन्द्र सुब्बाको लेखन रहेको उक्त चलचित्र तयार गर्न करिब एक करोड रुपैयाँ सकिएको निर्माणपक्षले जनाएको छ ।

चलचित्रको निर्माता किशोरकुमार लिम्बू र सीताकुमारी तुम्बापो हुन् भने सह–निर्माताको रूपमा तेज मेन्याङ्बो रहेका छन् । चलचित्रमा, बुद्धि तामाङ, सृजना सुब्बा, यासेली योङ्हाङ, रवि शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा, हेमराज अन्छङ्बो, इसिका जवेगु, जीवन भट्टराई, लक्ष्मी योङ्हाङ, बबिता फोम्बोलगायत कलाकारको अभिनय रहेको छ ।