लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गरेका छन् । उनले विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै अर्को महिना बेलायतलाई युरोपेली संघ ( ईयू)बाट बाहिर निकाल्न “शक्तिशाली नयाँ जनादेश” प्राप्त भएकामा खुशी व्यक्त गरेका छन् ।
उनले आगामी जनवरी ३१ मा बेलायत इयूबाट बाहिरिन्छ र कुनै “हुन्छ, हुन्न” भन्ने द्विविधा छैन भनेका थिए ।
प्रधानमन्त्री जोनसनको दल कन्जरभेटिभ्स पार्टीको यस पटकको विजय ऐतिहासिक भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनलाई चुनावमा विजयी भएकामा बधाई दिँदै बेलायतसँग अमेरिकाले व्यापक स्तरको व्यापार सम्झौता गर्ने बताए । बीबीसीका अनुसार हाउस अफ कमन्सका ६५० स्थानमध्ये घोषणा गरिएका ६०० स्थानमा जोनसनको कन्जरभेटिभ्स पार्टीले ३२६ स्थानमा विजय प्राप्त गरिसकेको छ ।
बिबिसीले मुख्य विपक्षी लेबर पार्टीले ५५ देखि १९७ स्थान गुमाएको छ । चुनावपछि गरिएका मतसर्वेक्षणमा सन् १९८० को दशकमा तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरले बहुमत हासिल गरेयता पहिलोपटक कन्जरभेटिभ्सले संसदमा सबैभन्दा ठूलो बहुमत प्राप्त गर्ने प्रक्षेपण सार्वजनिक गरेका थिए । चुनावी प्रारम्भिक नतिजासँगै बेलायती मुद्रा पाउण्ड स्टर्टिङको मूल्य डलरको तुलनामा दुई प्रतिशतले बढेको थियो ।
बेलायतको भविष्यलाई लिएर वर्षौंदेखिको राजनीतिक गतिरोध जोनसनको विजयसँगै अन्त्य हुने आमजनताले अपेक्षा गरेका छन् । धेरै सांसदको समर्थन प्राप्त भइसकेकाले प्रधानमन्त्री जोनसनले ब्रसेल्ससँग ब्रेक्जिट सम्झौताका सन्दर्भमा यसअघि तोकिएको आगामी जनवरी १ को समयावधिभित्रै बेलायत इयूबाट अलग्ग हुनेछ ।