काठमाडौं / अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ । नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो । नयाँ वर्ष र नयाँ दशकको शुरुआतमा आफ्नो भविष्यका लागि हाम्रा आशा र आकाङ्क्षाबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरुको भविष्यका लागि पनि सोच्ने अवसर रहेको जनाउँदै युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भन्े , “पात्रोमा जनवरी फर्किदैं गर्दा हामीलाई जीवनको यात्रा शुरु गरेका हरेक बालबालिकाको उनीहरुलाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ ।”

प्रशान्त क्षेत्रको फिजीले सन् २०२० को पहिलो शिशु प्राप्त गरेको छ भने संयुक्त राज्य अमेरिकाले नयाँ वर्षको दिनको अन्तिम शिशु प्राप्त गर्नेछ । संसारभर, आज जन्मिने आधाभन्दा धेरै शिशु बढी सङ्ख्याका आधारमा क्रमशः भारत, चीन, नाइजेरिया, पाकिस्तान, इण्डोनेशिया, संयुक्तराज्य अमेरिकालगायत छन् ।

संसारभरका लाखौँ नवजात शिशुका लागि, उनीहरुको जन्म सुखद हुन नसकेको आँकडा प्रस्तुत गर्दै युनिसेफले सन् २०१८ मा, संसारभरका २५ लाख नवजात शिशु उनीहरु जन्मेको पहिलो महिनामै र तीमध्ये करीब एक तिहाइ उनीहरुको जीवनको पहिलो दिनमै मरेको जनाएको छ । ती शिशुमध्ये धेरैजसो समय अगाडि नै जन्मिने, सुत्केरी हुँदाको जटिलता र सेप्सिसजस्ता सङ्क्रमणलगायत जोगाउन सकिने कारणबाटै मरेका थिए । यसका साथै, हरेक वर्ष २५ लाखभन्दा धेरै शिशु मृत जन्मिन्छन् ।

सन् २०१८ मा जन्मेको पहिलो महिनामा मर्ने शिशुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कूल सङ्ख्याको ४७ प्रतिशत थियो । युनिसेफले गर्भावस्था, प्रश्रव र जन्मका क्रममा हुने जटिलतालाई जोगाउन र उपचार गर्नका साथै हरेक आमा र नवजात शिशुको हेरचाह सुरक्षित हातले गरिएको सुनिश्चित गर्न उपयुक्त तालिम र उपकरणसहित स्वास्थ्यकर्मीमा तत्काल लगानी गर्न अह्वान पनि गरेको छ ।