धरान / भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । जम्मु कश्मीरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेको भारतीय सेनाका प्रवक्ता देवेन्द्र आनन्दलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते मगरलाई उपचारका लागि अस्पताल लगिएको हिन्दुस्तान टाइम्सले लेखेकाे छ । उनको उपचारको क्रममा मृत्यु भएको भारतीय सेनाले जनाएको छ । घटनामा अर्का सन्दीप रघुनाथको पनि मृत्यु भएको बताइएको छ । उनी भारतीय नागरिक हुन् । यस अघि गत कात्तिकमा भारत–पाकिस्तानबीच भएको लडाइँमा पनि गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली गामिलकुमार श्रेष्ठको मृत्यु भएको थियो । कश्मीरमा पाकिस्तान र भारतविच द्वन्द्व हुदैं आएको छ ।