धरान  / प्रदेश १ सरकारले चीनमा फैलिरहेको नोभल कोरोना भाइरसबाट प्रदेशलाई सुरक्षित राख्न र संक्रामितलाई सुरक्षित राख्न प्रदेशका ठूला छ वटा अस्पतालमा आइसोलेटेड बेड बनाउने भएको छ ।

हरेक बिरामीलाई छुट्टै उपचार गर्ने यस्तो बेडहरू धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान। झापाको मेची अञ्चल अस्पताल, विराटनगरको कोसी अञ्चल अस्पताल, झापाकै बिएन्डसी अस्पताल, विराटनगरको विराट मेडिकल कलेज टिचिङ अस्पताल तथा नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा आइसोलेटेट बेड व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

आज आन्तरिक मामिला मन्त्रालयमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिम्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारी लगायत सरोकारवालाहरूसँगको छलफलबाट यस्तो निर्णय भएको हो ।

प्रदेश सरकारले कोरोना बारेमा सचेतना फैलाउने, सबै सुरक्षा निकायसँगको सहकार्यमा प्रदेशका सबै जिल्लामा सतर्कता अभियान गर्न सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएको छ । कोरोला संक्रमणबाट जोगिन प्रदेश १ का दुई चिनियाँ नाकाहरू बन्द हुँदा पर्न सक्ने खाद्यान्न असुविधाको व्यवस्थापनको लागी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएको छ ।