धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यकारिणी समिति (कास) र चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजबीच जुहारी चलेको छ । तलब वृद्धिको माग गर्दै आएका समाजले कार्यवाहक उपकुलपतिको भनाइ राख्दै विज्ञप्ति जारी गरेपछि कासले पनि विज्ञप्तिको प्रत्युतर दिएर जुहारी चलाएको छ ।

समाजले ४३ औं सिनेट बैठकले चिकित्सक, शिक्षक र कर्मचारीको तलब वृद्धि गर्ने प्रस्ताव पारित गरेको भन्दै अब कम्तीमा २० प्रतिशत तलब वृद्धि गर्न माग गरेका थिए । त्यसबेला उपकुलपति प्रा.डा.गुरु खनालले आफूलाई कार्यकारिणी समितिका सदस्य र पदाधिकारीहरूले असहयोग गर्दा तलब वृद्धिको निर्णय एक्लै गर्न नसकेको बताएको भन्दै अब आन्दोलनको विकल्प नरहेको चेतावनीसहित समाजले विज्ञप्ति जारी गरेको छ । समाजको विज्ञप्ति उपकुलपति र कार्यकारिणी समितिप्रति लक्षित रहेपछि कासले पनि लगतै ‘काउण्टर’ विज्ञप्ति जारी गरेर भ्रम नपैmलाउन सचेत गराएको छ ।

समाजका अध्यक्ष डा.विष्णु पोखरेल र महासचिव डा.सूर्य पराजुलीद्वारा हस्ताक्षरित माघ २९ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले विगत पाँच वर्ष यता पटक पटक गरी ७६ प्रतिशत तलब बढाउँदा प्रतिष्ठानमा २४ प्रतिशतमात्र बढाएर सम्पूर्ण फ्याकल्टी, कर्मचारीहरूमाथि घोर अन्याय गरिएको छ ।

कम्तीमा यस वर्षदेखि २० प्रतिशत तलब बढाउँदा केही हदसम्म न्यायोचित हुने भन्ने हाम्रो गहन अध्ययन एवं व्यापक गृहकार्यमाथि निर्भर रही हालैको सिनेटले समेत पारित गरिसकेको हो ।’ समाजले आकाशिएको कर वृद्धिले तलब घटुवा भएको निष्कर्ष निकाल्दै आन्दोलनबाहेक अन्य कुनै विकल्प छैन भन्ने कुरालाई जबरजस्ती स्थापित गर्न खोजेको आरोप पनि लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलन सर्वप्रथम यहाँका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्य विरुद्ध हुनेछ, त्यसपछि सरकार विरुद्ध ।’

समाजले फागुन ४ गते अर्को विज्ञप्ति जारी ग¥यो । उक्त विज्ञप्तिमा भनिएको छ, ‘सिनेट बसेको दुई महिना बितिसक्दा पनि तलब वृद्धि सम्बन्धी ठोस निर्णय कार्यान्वयन हुन नसक्नुको कारण स्पष्ट पार्न कार्यवाहक उपकुलपतिसँग अनुरोध ग¥यौं । उक्त छलफलमा वहाँले आफूलाई आफू मातहतका पदाधिकारीबाट र कास सदस्यहरूबाट आवश्यक सहयोग नभएको हालको अवस्थामा एक्लै यति ठूलो निर्णय गर्न नसक्ने कुरा जानकारी गराउनुभयो ।’

कासका सदस्यहरूलाई मुछेर जारी भएको पछिल्लो विज्ञप्ति पछि कासले काउण्टर विज्ञप्ति जारी गर्र्दै समाजले जारी गरेको सूचना विज्ञप्तिमा कावा उपकुलपतिको अभिव्यक्ति कपोल कल्पित, भ्रामक र असत्य भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘समाजका पदाधिकारीहरूलार्ई कावा उपकुलपतिको सो अभिव्यक्तिलाई असत्य सावित गरी आफ्नो विश्वसनीयता स्थापित गर्ने, प्रतिष्ठान भित्र द्वन्द्व बढाउन नभई स्थिरताको निमित्त भूमिका अपेक्षा गरेको आम शिक्षकवर्गलाई विश्वास जगाउने र व्यक्तिगत एजेण्डालाई किनारा लगाई आम शिक्षकको हकहितमा एजेण्डा बोक्ने नैतिक जिम्मेवारी आएको छ ।’

कासका सदस्यहरूले प्रतिष्ठानको कासको बसेका बैठकहरूमा हालसम्म शिक्षक, चिकित्सक, कर्मचारीहरूले माग गरेको तलब भत्ता सुविधा वृद्धिबारे कुनै प्रस्ताव पेश नभएको जनाएका छन् । कासले तलब वृद्धिको निर्णय गर्न नसक्ने र सिनेटले मात्र गर्ने भएकाले चिकित्सक समाजले कासलाई यो प्रकरणमा लतार्नु गलत नियत भएको कास सदस्य प्रा.डा. पशुपति चौधरीले बताए । उनले भने, ‘कास प्रति चिकित्सक समाजले पूर्वाग्रह राख्नु गलत हो ।

चिकित्सक, शिक्षक कर्मचारीको तलब वृद्धिप्रति हाम्रो कुनै पूर्वाग्रह छैन ।’ उपकुलपति बन्ने दौडमा रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा. डा.गुरु खनालले आफूलाई प्रतिष्ठानका कार्यकारिणी समितिका सदस्यले असहयोग गरेपछि तलब वृद्धि गर्न नसकेको जनाएपछि कासका सदस्यहरूले आपत्ति जनाएका छन् ।

दुई महिना अघि ४३ औं सिनेटले तलब वृद्धि सम्बन्धी निर्णय पारित गरेको सन्दर्भमा प्रतिष्ठानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले फ्याकल्टी तथा कर्मचारीको तलब कम्तीमा २० प्रतिशत तलब वृद्धि गर्न माग गरेका थिए । समाजको मागबारे कावा उपकुलपति खनालले आफूलाई मातहतका पदाधिकारी र कार्यकारिणी सदस्यबाट असहयोग भएकाले हालको अवस्थामा एक्लैले निर्णय गर्न नसकेको बताएपछि कासका सदस्यहरूले आपत्ति जनाएका हुन् ।

समाजको विज्ञप्तिमा आपत्ति जनाउने प्रतिष्ठानका कार्यकारिणी सदस्यहरूमा अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, प्रा.डा. पशुपति चौधरी र प्रा.डा. निर्मला लिम्बू रहेका छन् । प्रतिष्ठानका कावा उपकुलपति डा. खनालले सिनेट बैठकले बीपी प्रतिष्ठानको तलब वृद्धि गर्ने हैसियत पुग्छ भने वृद्धि गरेर खुवाउने भनेको बताए । उनले सरकारले स्वास्थ्य बिमाको करिब १८ करोड रुपैयाँ प्रतिष्ठानलाई दिन बाँकी रहेकाले त्यो रकम प्राप्त भएपछि वृद्धि भएको तलबअनुसार खुवाउन सकिने बताए ।

उनले आफूले कार्यकारिणी समितिका सदस्यहरूलाई कुनै दोष नदिएको बताए । उनले भने, ‘चिकित्सक समाजले जारी गरेको विज्ञप्तिमा कुनै सत्यता छैन । कासका सदस्यहरूले जारी गरेको आफ्नो भनाइसहितको स्पष्टोक्तिमा सत्यता छ ।’ कासका सदस्य अस्पताल निर्देशक प्रा.डा.गौरिशंकर साहले समाजले कार्यवाहक उपकुलपतिको भनाइ राखेर जारी गरेको भनाइ प्रति हाम्रो गम्भीर आपत्ति छ । हुँदै नभएको आरोप कासका सदस्यमाथि थोपरेर कावा उपकुलपति ‘पानी माथि ओभानो’ बन्न खोजेको जस्तो देखियो ।’