इनरुवा/ अस्पतालमा बेथिति मौलाएको भन्दै सुनसरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सीताराम मेहताले सुधारका पहल थाल्न निर्देशन दिएका छन् ।

रेफरल अस्पतालका रूपमा चिनिँदै गएको इनरुवा अस्पतालप्रति सेवाग्राहीको गुम्दो विश्वासका कारण गुमनाम हुने अवस्था सिर्जना हुन सक्ने भन्दै मेहताले सबैलाई सजगसमेत गराएका छन् । अस्पतालको छवि क्रमशः धमिलिँदो क्रममा देखिएकोप्रति चिन्ता व्यक्त गरेका सांसद्सहित सरोकारवालाहरूले महिना दिनभित्र अस्पतालमा देखिएका सबै समस्या समाधान गर्न भनेका छन् । सङ्घीय सांसद् मेहतासहितको टोलीले इनरुवा अस्पतालका मेसुसहित प्रशासन शाखाका कर्मचारीलाई डाकेर अस्पताल व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज भण्डारीलगायतको उपस्थितिमा सांसद् मेहताले इनरुवा अस्पतालका मेसु डा.सन्तोष राई र प्रशासन प्रमुख उमेश गौतमसहितका कर्मचारीलाई अस्पताल लथालिङ्ग बनाएको भन्दै झपारे । कर्मचारीको मनोमानी बढ्दै गएको बताएका मेहताले अस्पतालको ड्युटी समयमा डाक्टर नभेटिने, सेवाग्राहीले भरपर्दो सेवा पाउन नसक्नुुका साथै औषधि उपलब्ध नहुने र बिमा कार्यक्रम निष्प्रभावी भएको जस्ता विषयप्रति गम्भीर बन्न भनेका छन् ।

उनले व्यक्तिगत स्वार्थमा लिप्त कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने ठोस योजनासहितको दीर्घकालीन समाधान निकाल्न समेत माग गरेका छन् । मेहताले निर्देशनलाई अटेर गरे प्रदेश र सङ्घीय सरकारसामु कारबाहीका लागि आवाज उठाउनेसमेत बताए । मेहताले तलब, भत्तालगायतका शीर्र्षकमा भ्रष्टाचार गरेको विषय बाहिरिएकाले सत्य–तथ्य बाहिर ल्याउनसमेत माग गरेका छन् ।

अस्पतालका लागि सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताएका मेहताले सहयोग रकम सदुपयोगको ग्यारेण्टी भने हुनुपर्ने बताए । आर्थिक हिनामिना र सेवा प्रवाहमा ढिलासुस्तीलगायतका कारण बदनाम बन्दै गएको अस्पताललाई सुधारोन्मुख बनाउन सबैको सहकार्यको खाँचो रहेकोसमेत उनले औंल्याए । मेहताले अस्पतालको सबै खर्च र आम्दानीसहितको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

सांसद् मेहताको चासो र उठाएका विषयलाई अस्पताल प्रशासनले गम्भीररूपमा लिएको जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारीले अस्पताल सुधारको सवालमा आफू लागिपरे पनि साथ र सहयोग नमिलेको बताए । उनले यसअघिकी मे.सु. डा. बिना शाक्यको स्वार्थ र हठीपनाका कारण इनरुवा अस्पताल थप बदनामको अवस्थामा पुगेको जिकिर गरे ।

यता इनरुवा अस्पतालका नयाँ मे.सु. डा. राईले निकै समस्याका बावजुद गुज्रिनु परेकाले छोटो समयमा सबै सुधार असम्भव भए पनि प्रयास भने थालिएको बताए । यसअघि भएका अधिकांशजसो काम कारबाही त्रुटिपूर्ण तवरबाट भएको पाइएकाले सिस्टममा ल्याउने प्रयासमा आफू जुटेको राईले बताए ।

आर्थिक विषयसहित सेवा प्रवाह र कर्मचारीउपर निगरानी राख्दै आवश्यक छानबिनजस्ता विषयमा काम थालिएको उनले बताए । डा.राईले देशभरका जिल्ला अस्पतालमध्ये सेवा प्रवाह र व्यवस्थापन मूल्याङ्कनका आधारमा पुछारमा रहेको इनरुवा अस्पतालको स्तर माथि उकास्न सबैको साथ र सहकार्यको खाँचो औंल्याए ।

उता अस्पताल प्रशासन प्रमुख उमेश गौतमले सुधारका लागि गरिएका विगतदेखिका प्रयास सार्थक नहुँदा समस्या थपिँदै गएको प्रतिक्रिया दिएका छन् । उनले हामी भन्ने भावनाको विकास गरी सबै सरोकारावाला एकैठाउँमा बस्नुको विकल्प नरहेको बताए । अस्पतालनिकट जानकारहरूका अनुसार इनरुवा अस्पतालमा रहेका कर्मचारीहरूका बेग्लाबेग्लै समूह र व्यक्तिगत स्वार्थ समस्याको प्रमुख जड हो । जसमा स्वयम् अस्पताल विकास समितिका केही पदाधिकारीहरूको समेत अहम्ता जिम्मेवार छ ।