धरान / कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नकालागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले वायोमेट्रिक हाजिरी प्रणालीमा शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गरेको छ । बायोमेट्रिक हाजिरी प्रणाली बन्द गरेपछि प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारीले रजिष्ट्रर खातामा हस्ताक्षर गर्न थालेका छन् ।
प्रतिष्ठानका सहप्रवक्ता डा अशोक ऐयरका अनुसार प्रतिष्ठानमा औठाले थिचेर हाजिरी जनाउने बायोमेट्रिक प्रणाली छ । उक्त उपकरणमा कोही संक्रमितले औठाले थिचेमा त्यसबाट अरुलाई संक्रमण हुन सक्ने भएकाले हाललाई बन्द गरिएको हो । प्रतिष्ठानमा १६ सय बढी कर्मचारीहरु रहेका छन् । उनले भने, ‘कतिपय अवस्थामा प्रवेशद्धारमा राखिने बायोमेट्रिक उपकरणमा बाहिरबाट आएका अन्य व्यक्तिले पनि औलाले थिचिदिने गरेका छन् । यस्तो अवस्थामा पनि कोरोना भाइरस सर्न सक्ने भएकाले हाल बन्द गरी रजिष्ट्रर खाता प्रयोग गर्ने निर्णय गरिएको छ ।’
कोरोना भाइरसको संक्रमणबाट बच्नकालागि प्रतिष्ठानले शुक्रबार देखि नै जनरल ओपिडी, आकस्मिक कक्ष र आइसोलेसन वार्डमा विषेश तयारी गरेको छ । जनरल ओपिडी अगाडि हेल्प डेस्क राखिएको छ । हेल्प डेस्कमा शंकास्पद विरामीको ट्राभल हिस्ट्रीको आधारमा जांच गरिन सूरु भएको डा ऐयरले बताए । इन्फ्रारेड थर्मामिटरले ज्वरो नाप्ने, रुघा खोकी र स्वास प्रस्वासको समस्या भए नभएको पहिचान गरेर सोही अनुसार आइसोलेशन वार्डमा राखेर उपचार गर्न सुरु गरेको डा ऐयरले बताए । उनले भने, ‘कोरोना प्रभावित मुलुक वा क्षेत्र घुमेर १४ दिनभित्र आएका मानिसलाई बढी संकास्पद मानेर विषेश तयारी गरिएको छ ।’
प्रतिष्ठानल पेइङ वार्डका १० कोठालाई आइसोलेशन वार्ड बनाएको छ । आइसोलेशन वार्ड, हेल्प डेस्क र इमर्जेन्सीमा प्रत्येक फ्याकल्टीका चिकित्सकहरुको आठ आठ घण्टाको सिफ्ट रहने गरी चौबिसै घण्टा ड्यूटी तैनाथ गरिएको डा ऐयरले बताए ।