यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित तमोर लिफ्ट खानेपानी योजनाले प्रति लिटर ८ पैसामा पानी बितरण गर्ने भएको छ । खानेपानी महसुल तोक्न उपभोक्ता समितिले कार्यादल गठन गरी उक्त रकम तोकेको हो ।

गठित कार्यदलले प्रति लिटर आठ पैसाको दरले रकम तोकेको छ । समितिले कार्यदल बनाई प्रतिघरधुरी ६ हजार लिटरको ५ सय रुपैयाँ, १० हजार लिटरको ७ सय रुपैयाँ, १५ हजार लिटरको १५ सय रुपैयाँ महसुल तोकेको छ । त्यस्तै ३० हजार लिटरको ३ हजार रुपैयाँ र सो भन्दा बढि पानी प्रयोग गर्दा क्रमश रकम बढ्न सक्ने उपभोक्ता समितिका उपाध्यक्ष मेघराज निरौलाले बताए । नागरिकले खानेपानी महसुल अहिलेसम्मकै कम रुपैयाँमा खान पाउँने भएका छन । अझ सम्भव भएसम्म यो रकम भन्दा पनि कममा पानी खुवाउँने उदेश्यले सरकारसंग पहल गर्दै आएका छौ निरौलले भने ।

गाउँपालिकामा लामो समयदेखि खानेपानीको समस्यामा कष्ठकर जीवन गुजार्दै आएका थिए खानेपानीको हाहाकारको समयमा स्थानीयले प्रति लिटर ३ रुपैयाँसम्ममा पानी किनेर प्रयोग गर्दै आएका थिए । खानेपानीको कुवा र धारा सुकेपछी स्थानीय व्यवसायीको ट्याक्टरमा खानेपानी ढुवानी गरी स्थानीयले महङगो सुल्कमा पानी उपभोग गर्दै आएका थिए । खानेपानीको महसुल महङगो भएपछि स्थानीयतहले पहिलो कार्यकालमै पानी बोक्ने ट्याक्टर खरिद गरी नागरिकलाई पानी बितरण गर्दै आएको थियो ।

प्रतिलिटर ३ रुपैयाँमा निजि व्यवसायीबाट खानेपानी किन्दै आएका नागरिकलाई गाउँपालिकाले अनुदान मार्फत ६० पैसा प्रति लिटरको दरले पानी बितरण गरेको थियो । खानेपानी समस्या भएको समयमा गाउँपालिकाले अनुदानमा पानी बितरण गरेको दुई वर्ष पछि तमोरको पानी स्थानीयवासीले प्रयोग गर्न थालेका छन ।

स्थानीय सरकारले ६० पैसा प्रतिलिटरले पानी बितरणको दुइवर्ष पछि तमोर खानेपानी योजनाले घटाएर प्रति लिटर आठ पैसामा झारेको छ । जस्ले गर्दा नागरिकलाई सहज हुने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । उनिभन्छन् पहिले निजी व्यवसायीले प्रति लिटर ३ रुपैयाँले पानी बिक्री गर्थे । त्यसपछि स्थानीय सरकारले पुन ट्याक्टर खरिद गरी ६० पैसामा झा¥यो र अहिलेको तमोर खानेपानी योजनाले आठ पैसामा झारेको छ । यो अहिलेसम्मकै कम हो चेम्जोङले भने ।

विद्युतिय प्रविधिको खानेपानी आयोजना खर्चिलो हुने भएकाले केही महसुल महङगो हुन गएको छ । तर नागरिकले उक्त पानीबाट सागसब्जी, फलफुल खेतीमा प्रयोग गरी आम्दानी गर्न सक्छन् यस्तो अवस्थमा जति पानी चलायो त्यति सस्तो हुने भएकाले सस्तो मुल्यमा पानी प्रयोग गर्न सकिने उपभोक्ता समितिले जनाएको छ । यता खानेपानी बिभागका अनुसार सरकारले सिँचाहीमा मात्रै अनुदानको व्यवस्था गरेको र खानेपानी योजनामा अनुदानको व्यवस्था नगरेकाले आवश्यक परामर्श र छलफलबाट टुङगो लगाउँन सकिने बताएको छ । समितिले योजनाबाट खानेपानी उपभोग गर्दै आएका नागरिकको लागि चैत्र १ देखि खानेपानी महसुल कार्यान्वयमा ल्याएको छ ।