संखुवासभा  / गाउँपालिकामा खाद्य संकट भए पछी राहत सामाग्री लैजान बाक्लो हिउँका कारण समस्या भएको छ । चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका १ किमाथांकामा खाद्य संकट भएपछी खाँदबारीबाट खाद्य सामाग्री लानलाई हिउँ परेका कारण समस्याभएको हो । 

खाँदबारीदेखि हुङगुङसम्म ट्याक्टरमा ढुवानी गरिए पनि यहाँबाट सडक नभएकाले मानिसहरुले नै बोक्नु पर्ने थियो । तर मौसम परिवर्तनका कारण बाक्लो हिउँ परेकाले सामाग्री लैजान समस्या भएको वडा नं. १ का अध्यक्ष तेन्छेवी शेर्पाले बताए ।
हिउँका कारण ढुवानीमा भरपर्दो खच्चडलाई समेत हिड्न समस्या भएपछी मानिसहरुले नै बोकेर लैजानु परेको शेर्पाले बताए ।
हुङगुङबाट दुई दिनको पैदल दुरीमा रहेको किमाथांका चीनसँग सिमाना जोडिएको पालिकाहो । १ सय १५ घर परिवारमा करिब पाँच सय जनसङ्ख्या रहेको किमाथांकाबासीका लागि १ सय ५० बोरा चामल र नुन ढुवानी गरिएको थियो । सदरमुकाम खाँदबारीबाट हुङगुङसम्म ढुवानी बापतको खर्च गाउँपालिकाले व्यहोरेको थियो । खाद्य सामाग्रीको मुल्य भन्दा ढुवानीमा दोब्बर खर्च हुने भएकाले राहत स्वरुप गाउँपालिकाले ढुवानी सेवामा खर्च गरेको शेर्पाले बताए ।
कोरोना भाइरस फैलिएपछि ३ महिनादेखि चीनले किमाथांका नाका सिल गरेको छ । तर नेपाल सिमा क्षेत्रका जनतालाई राहतका लागि चिन तर्फबाट हरेका १५ दिनमा खाद्य सामाग्री ढुवानीका लागि सिमा खुला गर्ने भने पनि नेपाल तर्फ लकडाउनका कारण समस्या भएको शेर्पाले बताए ।
भौगोलिक विकटताका कारण राहत पु¥याउन जनप्रतिनिधि र स्थानीय तहको प्रयासले मात्र सम्भव नभएको उनी बताउँछन् । अब केही दिन भित्र सरकारले दुर्गमका जनतालाई राहतको विकल्प नल्याए भोकमरी संकट सुरु हुने शेर्पाको भनाई छ ।
लकडाउनका कारण वडा नं. २ मा समेत खाद्य वस्तुको अभाव भएको छ । वडा नं. २ को रिदाक, थुदाम, छुमसुर लगायतका गाउँहरु खाद्य संकटमा परेको हो ।

राहतका लािग लगिएको चामल बरुण नदीमा डुब्यो

जिल्ला सदरमुकाम खाँदबारीबाट चामल बोकेर हटिया जाँदै गरेको ट्रयाक्टर बरुण नदीमा डुबेको छ । १ सय २० बोरा चामल लिएर भोटखोलाको हटिया गएको ट्रयाक्टर वरुण नदीमा डुबेको हो । ट्याक्टर नदीमा डुबेका कारण १७ बोरा चामल बगाएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए । बरुण नदीमा राखेको होमपाइप नदीले भत्काएपछि ट्रयाक्टर नदीमा डुबेको हो ।
नदीमा डुबेको ट्रयाक्टर र चामल स्काभेटरको सहयोगमा निकालिएको भोटेले बताए । चामल पानीमा भिजेपछि काम नलाग्ने अवस्थामा पुगेको अध्यक्ष भोटेले बताए ।