इनरुवा/कोरोना भाईरसको महामारीका कारण जारी लक डाउनका कारण गरिव तथा विपन्न परिवारको बिचल्ली भएको भन्दै इनरुवाका कविन श्रेष्ठले ५ टन चामल सहयोग उपलब्ध गराएका छन् ।

इनरुवाका स्थानीय कविन श्रेष्ठले नगरपालिकाको कार्यालयलाई ५ टन अर्थात ५ हजार किलो चामल सहयोग स्वरुप उपलब्ध गराएका हुन् ।

कविन इन्टरनेशनल प्रालि. सोनालिका ट्याक्टरको तर्फबाट उपलब्ध गराइएको सहयोग इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई हस्तान्तरण गरिएको छ । 

इनरुवा नगरपालिकाले विपन्न तथा गरिवहरुको सहयोगकालागि स्थापना गरेको फुड बैंकमा श्रेष्ठले सो खाद्यान्न सहयोग उपलब्ध गराएका हुन् । श्रेष्ठले आवश्यक परे थप सहयोग समेत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

खाद्यान्न सामग्री बुझ्दै नगर प्रमुख मेहताले वडाहरुबाट गरिएको लगत संकलनका आधारमा गरिव तथा विपन्न परिवारको पहिचान गरी राहत सामग्री वितरण गरिने बताए । नगरपालिकाको कार्यालयले अन्यत्रबाट समेत सहयोग जुट्ने क्रममा रहेको बताएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार इनरुवाका सबै वडाबाट ५ हजारको संख्यामा विपन्न परिवारको विवरण प्राप्त भएको छ ।