• धनबहादुरर पुरी

इटहरी / इटहरी–२० तरहरादेखि धरानको तीनकुनेसम्मको ६ लेन सडक निर्माणको काम शुरु भएको छ । चारकोसे झाडीमा रुखहरूको कारण लामो समयदेखि शुरु नभएको ६ लेन सडक विस्तारको काम शुरु भएको हो । अहिले तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्मको सडक विस्तारको लागि सडकभित्र पर्ने रुख कटान गर्न थालेको हो ।

तरहरादेखि धरानसम्म चारकोसे झाडीको ९ किलोमिटर ६ लेन सडक निर्माणको ठेक्का लागेसँगै १४ सय रुख काटिने भएको छ । सडक विस्तारको क्रममा चारकोसे झाडीमा रहेका रुखहरू कटान गर्ने कार्य शुरु भएको ६ लेन सडक आयोजना इटहरीले जनाएको छ । स्काभेटर तथा अन्य औजारहरूको प्रयोग गरी सडक निर्माणमा बाधक रहेका काँचा रुखहरू काट्न थालिएको हो ।

महŒवाकाङ्क्षी योजनाको रूपमा काम अगाडि बढाइएको विराटनगरको रानीभन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजनाको क्रममा इटहरी र धरानबीचको सडकमा रहेका १४ सय रुख कटान हुने भएको छ । कटान हुने रुखको सङ्ख्यासहित अहिले सडक आसपासका रुख काट्न शुरु गरिएको ६ लेन सडक आयोजना इटहरीले जनाएको हो ।

लामो समयदेखि ठेक्का नलागेको उक्त ९ किलोमिटर सडकको काम शुरु भएको ६ लेन सडक आयोजना कार्यालयका प्रमुख बद्रीप्रसाद शर्माले जनाए । तरहरादेखि धरानसम्मको चारकोसे झाडीको सडक भने ४ लेनको मात्र हुने उनी बताउँछन् । ‘यहाँ धेरै रुख कटान हुने भएको कारण वन विभागले तोकेको भन्दा थोरै रुख काट्ने तयारीमा छौं’–उनले भने ।

वन विभागको स्वीकृतिमा सडक विस्तार गर्न चारकोसे झाडीमा पहिलो चोटी एकै पटक १४ सय रुख काट्न लागिएको ६ लेन सडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्माले बताए । प्रमुख शर्माले भने, ‘सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ ११.५–११.५ मिटर चौडाइमा सडक विस्तार हुनेछ । कालोपत्रे सडक भने इटहरी–तरहराकै चौडाइमा हुनेछ ।’ जङ्गलमा ड्रेन तथा फुटपाथ बनाउनु नपर्ने भएको कारण यो मापदण्डमा सडक विस्तार हुने उनी बताउँछन् ।

मोरङको रानी–विराटनगर–इटहरी–धरान ६ लेनको व्यापारिक सडक निर्माण थालेको ६ वर्ष भए पनि पूर्णता पाउन सकेको छैन । उक्त सडक विस्तारको काम आर्थिक वर्ष २०६९/७० देखि शुरू भएको थियो । सडक आसपासको रुख कटान गरेको काठ भने डिभिजन कार्यालयले लैजाने बताइएको छ । ६ लेन सडक आयोजनाले पछिल्लो केही समययता सडक विस्तारको कामलाई प्रथामिकता दिइरहेको शर्मा बताउँछन् ।

इटहरी क्षेत्रमा मनपरी मापदण्डमा ६ लेन सडक निर्माण भइरहेको छ । इटहरी चोक–तरहरा र चारकोसे झाडी क्षेत्रमा फरक मापदण्डमा सडक निर्माण भइरहेको पाइन्छ । तर ६ लेन सडक आयोजनाले भने कालोपत्रे हुने सडक भने समान मापदण्डमा निर्माण भइरहेको जनाएको छ । लामो समयदेखि निर्माणाधीन सडक विस्तारको कामले प्रथामिकता पाउन थालेको आयोजना बताउँछ ।