धरान / धरान –विराटनगर सडक खण्डमा विहीबार राती दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ स्थित विराटनगर महानगरपालिकाको प्रवेश गेट नजिक आरती स्टिल उद्योग अगाडी सडकको डिभाइडरमा ठोकिएर यात्रुवाहक को १ ख ६९५२ नम्बर को बस पल्टिदा धनकुटाको साँगुरीगढी गाउँपालिका ७ बस्ने वर्ष २९ का जसबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
सो दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन् । उनीहरु भोजपुरको भएको खुलेको छ । प्रहरीका अनुसार भोजपुरका रामप्रसाद राई गाउँपालिका ७ का राजकुमार राई, सोही स्थानका कल्पना राई रहेका छन् । एक जना सोही गाउँपालिकाका ३५ वर्षीय मुना राई सामान्य घाइते भएका छन् । घाइते सबैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।