भद्रपुर /  विना इजाजत सालको काठ कटान गरेको अभियोग लागेर फरार रहेका मेचीनगर–१२ का ३१ वर्षीय रमेश राईलाई पक्राउ पछि जेल चलान गरिएको छ ।

काठ कटान गरेको अभियोगमा रेञ्जर बाबुराम फुँयालको जाहेरीमा उनलाई झापा जिल्ला अदालतले २०७१ बैशाख १५ गते सजाय तोकेको थियो । त्यस सजायमा एक महिना कैद र २२ हजार ८ सय रुँपैयाँ बेरुजु रहेकाले फरार रहेका राईलाई गत साउन २५ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भद्रपुर १० बाट पक्राउ गरेको थियो । जिल्ला अदालतमा पेस गर्दा उनलाई बाँकी कैद भुक्तानीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरीका डिएसपी राकेश थापाले जनाएका छन् ।

त्यसैगरी झापा गाउँपालिका ३ बस्ने ३५ वर्षीय नत्थु बिश्वकर्मालाई हत्या गर्ने मेचीनगर नगरपालिका ५ बस्ने बौदल लामगादे भन्ने पुण्यप्रसाद बिश्वकर्मा जेल चलान भएका छन् ।
२०६३ चैत २४ गते हत्या गरी फरार रहेका पुण्यप्रसाद १४ वर्षपछि गत असार ३० गते पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले मेचीनगर ८ स्थित ईटाभट्टा चौकमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको थियो ।

नातामा ससुरा पर्ने झापा गाउँपालिका वडा नं. ३ का नन्दुलाल विश्वकर्माको घरमा गएका पुण्यप्रसादले नत्थु विश्वकर्माको साईकल कामाटोली बजारबाट नसोधी ल्याएको बिषयमा विवाद भएको थियो । ससुराली घर गएको बेला रक्सीले मातेका पुण्यप्रसादले कुटपिट गर्दा नत्थु घाईते भएका थिए । उनलाई उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको थियो । घटनापश्चात पुण्यप्रसाद फरार भएका थिए । उनलाई जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि झापा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी थापाले जानकारी दिए ।