• सन्तवीर लामा


धनकुटा / धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ८ भुँवरेकी सजना श्रेष्ठ आत्महत्या प्रकरणमा प्रहरीले किटानी जाहेरी नलिएपछि उनका माइती पक्षले पत्रकार सम्मेलन गरी न्यायको माग गरेका छन् ।

माइती पक्षले नेपाल पत्रकार महासंघ धनकुटा शाखामा हिजो पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेका हुन् । भोजपुर नगरपालिका वडा नं. १० माइत घर भएकी ३४ बर्षीया सजना श्रेष्ठको गएको साउन २४ गते झुण्डिएको अवस्थामा मृत्यु भएको थियो । उनको श्रीमान पाख्रीवास वडा नं.८ भुँवरेका गणेश प्रधान बिदेशबाट आएको १० महिना पछि सजनालाई क्वाँटी पुर्णिमाको दिन घरमा वोलाएर हत्या गरेको माइती पक्षको दावी छ । सजना श्रीमान विदेश गएदेखि नै पाख्रीवास वजारमा पसल गर्दै आएकी थिइन ।

उनीहरुले सजना झुण्डिएको नभै, झुण्डाइएको हो भनेर घटनालाई निष्पक्ष छानविन गरी, अपराधिलाई कानुनी कठघरामा उभ्याएर कार्वाही गर्नु पर्ने माग गर्दै पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा वोल्दै मृतक सजनाकी बुबा बमवहादुर श्रेष्ठले ज्वाँईलाई विदेश नजानु मिलेर पसल गरेर खानु भन्दा मानेन्न, विदेश गए पछि मेरी छोरीलाई हेर्न सकेनन् मारेरै छाडे भन्दै गहभरी आँशु वनाउँदै भने । उनले न्यायको लागी जिल्ला प्रहरी कार्यालय धनकुटामा जाँदा पनि न्याय नपाएकोले पत्रकार सम्मेलन गर्नु परेको गुनासो गरे ।
मृतक काका चक्र वहादुर श्रेष्ठले ज्वाईले विदेशबाट फोन गरेर मेरो भतिजी सजनालाई नेपाल आएर मारेर तिन महिना जेल वस्छु भनेर फोनमा धम्क्याएको थिए, आज पु¥याएरै छाडेको उनले भने । ज्वाँई विदेशबाट ०७६ अशोजमा आउँदा सिधै घर नआई केटी लिएर काठमाण्डौ, तरहरा तिरै वसेको उनले वताए ।

मृतकका ठूलो वुवा रामचन्द्र श्रेष्ठले भने–ज्वाँई विदेशबाट आए पछि घर नआउँदा खोजेर ल्याएर छोरी ज्वाँईलाई राखेर पटक÷पटक मिलाउने प्रयास गरियो नमिल्नुको परिणाम आज देखाएरै छाडेको वताए । यता प्रहरीले घट्ना भए देखी नै सजनाको आफन्तसंग अभद्र व्यावहार गरेको, फोटो खिच्न नदिएको, प्रमाणहरु नष्ट गर्न खोजेको, मुजुल्का वनाउँदा मृतकको माईती पक्षलाई वोल्न नदिएको ठूलो वुवा रामचन्द्रको आरोप छ । उनले मृतकको टाउकोमा टुटुल्को उठेको, ओठ सुन्निएको, छातिमा चोट लागेकोले सजनाको मृत्यु आत्महत्या नभै कर्तव्य ज्यानबाट भएको दावी गरे । घट्ना घटयो, अपराध होकि होईन हामीलाई शंका लाग्यो दोषीलाई पक्राउ गरि आवश्याक अनुशन्धान गर भन्दा प्रहरी नमानेको उनको दावी छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले उनको हत्याको किटानी जाहेरी लिन नमानेपछि आक्रोशित परिवारले जिल्ला सरकारी वकिल कार्यालय धनकुटामा जाहेरी दर्तागरी पत्रकार सम्मेलन गरेका हन् । माइती पक्षले पाख्रिबास ८ का बर्ष ३८ का ज्वाई गणेश प्रधान, ससुरा डम्बर प्रधान र सासु भीमकुमारी प्रधान बिरुद्ध हत्याको जाहेरी दर्ता गरेका छन् ।

मृतकका आफन्तहरुले पत्रकार सम्मेलनमा ज्वाई गणेशले फेसबुक म्यासेन्जर सजनालाई म्यासेज गरेको १ सय ५६ पेज लामो अश्लिल गालीसहित ज्यान मार्न दिएको धम्की र अडियो रेकर्ड सुनाएका थिए । घटनाको प्रकृति र बिभिन्न प्रमाणको आधारमा मृतक सजनाको हत्या भएको ठहर आफन्तहरुको छ । प्रहरीले समेत जाहेरी लिन अस्वीकार गरेकोले घटना आत्महत्या नभै हत्या भएको हुनसक्ने भएकाले दोषीलाई छानविनको दायरामा ल्याउन बिज्ञप्ति मार्फत् सजनाको बुवा बमबहादुर श्रेष्ठले पत्रकार, मानव अधिकावादी र सम्वन्धित् सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् ।

घटनालाई लिएर धनकुटाका बिभिन्न संस्थामा आवद्ध महिला अधिकारकर्मीहरुले निष्पक्ष छानबिनमा सहयोगका लागि ऐक्यवद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले प्रारम्भिक सरजमिन मुचुल्का र डाक्टरी पोसमार्टमका आधारमा आत्महत्या देखिएकोले हत्याको जाहेरी लिन नसकिएको उनको भनाई थियो । उनले घटनाको अनुसन्धान जारी रहने वताएका छन् । मृतकका आफन्त तथा पसलका छिमेकीहरु सिताराम श्रेष्ठ, विष्णुमाया धमला, पाख्रीवास वजारमा सजनाको पसल घरवाला इन्द्रमाया गुरुङ्ग, सीता रासाईली, अधिकारकर्मी कोपिला शंकर लगायतले घट्नाको सत्य तत्थ्य छानविन गर्न माग गरेका छन् ।