वराहक्षेत्र । रापिलो घाम लागेको मध्यान्हको तातो सडकमा खाली खुट्टा दाउराको भारी बोकेका ७६ वर्षीय बृद्ध मंगल सिंह राई समाजिक सञ्जालमा भाइरल बनेपछि उनलाई आर्थिक तथा भौतिक सहयोग उपलब्ध हुन थालेको छ ।

दैनिक गुजारा गर्न जंगलबाट दाउरा टिपेर ल्याउँदै गर्दा बाटोमा भेटिएका बराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर १ लालबस्तीका जेष्ठ नागरिक राईको तस्बिर स्थानिय सञ्चारकर्मी हिमाल राईले फेसबुकमा पोष्ट गरेपछि भाईरल बनेका राईलाई सहयोग आउन थालेको हो ।

युकेकी सामाजिक अभियन्ता सुमी चाम्लिङ्ग लिम्बुको पहलमा युकेमा बसोबास गर्ने नेपालीहरुले सोमबार राईलाई २५ हजार रुपैंया सहयाेग प्रदान गरेका छन् ।

उक्त रकम ईटहरीका समाजसेवीद्वय माया र रेणु राईले  घरमा गएर हस्तान्तरण गरेका थिए । सहयाेग दिनेमा स्वयं सुमी चाम्लिङ्ग लिम्बुले १० हजार ४ सय रुपैंया, राम कुमारी राईले ७ हजार ४ सय, संगिता राईले ४ हजार ४ सय, यसैगरी आस्था गुरुङ्ग र ममता राईले २ हजार ८ सय रुपैंया उपलब्ध गराएका हुन् भने ईटहरीकी रेणु राईले २ हजार रुपैंया सहयोग दिएको हिमाल राईले बताए ।

mangal shing rai (1)

सहयाेगको रकमबाट बृद्ध राईलाई २ हजार रुपैंया बराबरको एकजोडी जुत्ता, मोजा, एक–एक वटा डेक्ची, आरी, प्लेट, कप , बाल्टी र केट्ली खरिद गरिएको छ । १ हजार रुपैंया घरमा छाना लगाउन बांस खरिद गर्न दिईएको छ ।

यस्तै वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका नगरका राजिन तामाङ्गले पनि ६ हजार ६३ रुपैंयाँ बराबरको खाद्यान लगायत सामग्री सहयोग गरेकाे सञ्चारकर्मी राईले बताए ।

स्थानिय तिर्थ नगरी बचत सहकारी संस्थामा हकवाला बृद्ध राईको भान्जा अशोक कुमार राई तथा संरक्षकहरु हिमाल राई, सन्तोष गुप्ता र नवराज विष्ट रहेको मंगल सिंहको नाममा खाता नम्बर T-4 भएको खाता सञ्चालन गरि सोमबार नै २२ हजार रुपैंया जम्मा गरिएको राईले बताए ।

युकेकी सुमी चाम्लिङ्गले बृद्ध राईलाई जिवनभर खाना खर्च जुटाउने बताएको भन्दै सहयोग गर्न चाहनेले मितेरी बैंकको चतरा शाखामा रहेको खाता नम्बर J0000859427 जे ००००८५९४२७ र तिर्थनगरी सहकारीमा सहयाेग रकम जम्मा गर्न सकिने उनले बताए ।

मंगल सिंह लालबस्ती स्थित भान्जाको घर संगै रहेको सानो  झुपडीमा बस्दै आएका छन् ।