विराटनगर । विराटनगर– १० स्थित बिके. एम मसला उद्योगले अधिकतम  मुनाफा राखेर मसला विक्री वितरण गरेको पाइएको छ ।

४ सय ५२ रुपैयाँ प्रति केजीमा पाइने मसला १ हजार २ सय रुपैयाँमा बिक्री बितरण गरेको प्रमाण फेला अनुगमन टोलीले फेला पारेको हो ।

लागत मूल्य भन्दा पनि तेब्बरमा मसला बिक्री बितरण गरेको अनुगमन टोलीले फेला पारेपछि उक्त मसला उद्योगलाई वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवना गरेको छ ।

‘एक केजीमा ५० ग्रामको ३० प्याकेट मसला हुने रहेछ,’ वार्णिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले भन्नुभयो, ‘प्रतिकेजी ४५० मूल्य पर्ने मसलाको एमआरपी १ हजार २ सय राखेर बिक्री गरेको भेटियो ।’

बिके. एम मसला उद्योगले अनुचित  क्रियाकलाप गरि अधिकतम मुनाफा राखेर मसला बिक्री गरेको भेटिएपछि उपभोक्ता संक्षरण ऐन अनुसार पहिलो पटक २ लाख रुपैयाँ जरिवना गरेर कारवाही गरेको उनले बताए ।

गरम मसलाको मूल्य १५० प्रतिशत भन्दा बढि बृद्धि गरिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३० प्रतिशत भन्दा बढी मूल्य लिएमा २ लाख देखि ३ लाख रुपैयासम्म जरिवाना लाग्ने कानुनी प्रावधान छ । कार्यालयले त्यहि प्रावधानमा टेकेर पहिलो पटक भएकाले २ लाख रुपैया जरिवाना तोकिएको उनले बताए ।

लकडाउनको बाहानामा विराटनगरका बजारमा तरकारी, खाद्यन्न लगायतको मूल्यमा बृद्धि भएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले अनुगमनलाई तिव्रता दिएको छ ।

हरियो तरकारी, आलु, प्याज, गोलभेडा, खानेतेल चियापत्ती मसलालगायत अन्य खाद्यबस्तुहरुमा अत्याधिक मुल्य बृद्धि भएको गुनासो आएपछि बजार अनुगमनलाई तिव्रता दिइएको हो ।