यासोक । पाँचथर जिल्लाको मुख्य नाकासमेत रहेको फाल्गुनन्द गाउँपालिकामा कोरोना लक्षित पूर्वतयारी अघि बढाएको छ ।

दोस्रो चरणको सङ्क्रमण समुदाय स्तरमा फैलिन सक्ने भन्दै गाउँपालिकाले कोभिड अस्पतालदेखि अक्सिजनसम्मको व्यवस्थापन गरेको हो । महामारीको समयमा जनतालाई सङ्क्रमणबाट जोगाउन र सङ्क्रमितको उपचारको लागि व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले एक प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म गरेका प्रगति र पूर्वतयारीबारे सार्वजनिक गरिएको हो ।

तुम्रोकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गाउँपालिकाले महामारीलाई प्राथमिकता दिँदै मुख्य नाका राँके बजारमा जेठ १ गतेदेखि हेल्थ एण्ड हेल्प डेस्क स्थापना गरी सञ्चालनमा ल्याएको छ । सो कक्षले जिल्ला प्रवेश र बाहिरिने नागरिकको विवरण राख्ने गरेको छ । सोही स्थानमा गतवर्ष स्थापना गरिएको १५ बेडको क्वारेण्टाइन सञ्चालनमा ल्याएको छ । त्यस्तै ५ बेडको कोभिड अस्थायी अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको छ ।’

त्यस्तै कोरोना सङ्क्रमणले जटिल अवस्था सिर्जना हुनसक्ने भन्दै गाउँपालिकाले ४ सय ७५ लिटरका १५ थान अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको बताएको छ ।

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न स्वास्थ्यकर्मीहरूका लागि आवश्यक पर्ने पीपीई सेटसहित अन्य स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सङ्क्रमित नागरिकलाई तत्काल अस्पतालसम्म पुर्याउन एम्बुलेन्स र अन्य सवारी साधन तयारी अवस्थामा राखिएको जनाइएको छ । नागरिकलाई सजग र सचेत गराउन सचेतनामूलक सूचनाहरू सम्प्रेषण गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।