भण्टाबाटी । सुनसरीको कोशी गाउँपालीकाको एउटै वार्डमा भाइरसका कारण तीनजना व्यक्तिको ज्यान गएको छ ।
कोशी गाउँपालीका वार्ड ६ स्थित श्रीपुरमा केहीदिनको अवधिमा कोरोना भाइरसका कारण तीनजना व्यक्तिको ज्यान गएको हो ।
भारतसँग खुल्ला सीमा जोडिएकाका कारण संबेदनसिल मानिने कोशी क्षेत्रमा पछिल्लो समय नयाँ भेरिएण्टको कोरोना संक्रमितको संख्या बढिरहेका छन् ।
ग्रामीण भेगका सर्वसाधारण कोरोना संक्रमित भएर मर्ने क्रम बढेपनि कोरोना परिक्षण गराउनेको संख्या ज्यादै न्यून रहेको पाइन्छ ।

घरमै पुगेर परिक्षण गर्दै जनप्रतिनिधि
कोरोना संक्रमित भएर तीनजनाको ज्यान गएपछि कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी नेतृत्वको जनप्रतिनिधिको टोलि मृतकका आफन्तसँगै अन्य सर्वसाधारणको कोरोना परिक्षण गर्ने कार्यमा जुटेका छन् ।
समुदायस्तरमा कोरोना फैलिन न दिनका लागि पहिलोचरणमा मृतक व्यक्तिका आफन्त र छरछिमेकीको एण्टिजेन बिधिमार्फत कोरोना परिक्षा गरिएको बताउदै कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले आवश्यकता र अवस्था हेरेर एण्टिजेनसँगै पीसिआर परिक्षणको दायरा बढाइने बताउँछन् ।
कोशी गाउँपालीका ६ स्थित श्रीपुरमा बुधबार १३ जनाको परिक्षण गरिएकोमा एकजना महिलाको रिपोर्ट पोजिटिभ आएको छ ।
ति महिलालाई होम आइशोलेसन मै राखिएको छ । विगतको तुलनामा सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएपनि खुल्ला सीमानाकाका कारण चोर बाटोबाट आवतजावत हुने क्रम रोकिएको छैन ।
सोही कारण यस भेगका सर्वसाधारण संक्रमित हुने जोखिम उच्च रहेको हो । समुदायस्तर कोरोना फैलिएको अवस्थामा स्थिति नियन्त्रण बाहिर जान सक्ने भएकाले सोही कुरालाई दृष्टिगत गर्दै परिक्षणको दायरा बढाउदै लाने योजना रहेको अध्यक्ष अन्सारीको भनाइ छ ।
मृतक वा संक्रमित सर्वसाधारणका आफन्त,छरछिमेकीका साथै फ्रन्ट लाइनमा काम गर्ने सुरक्षाकर्मी र कर्मचारीवर्गलाई कोशी गाउँपालीकाले प्राथमिकतामा राखिएको हुँदा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको अवस्थामा सम्पर्क गर्न अध्यक्ष अन्सारीले आह्वान समेत गरेका छन् ।