धरान । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतको गठबन्धनबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार दिएका खिमलाल देवकोटाले गृहमन्त्री रामबहादुर थापा बादललाई हराएका छन् । 

आज भएको राष्ट्रियसभाको उपनिर्वाचनमा देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेका छन् । देवकोटालाई नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको पनि समर्थन रहेको थियो । बादल एक्लो एमालेबाट लडेका थिए । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले देवकोटा विजयी बनेको जानकारी दिए । बादलले ४०१४ मतभार प्राप्त गरेका थिए । 

देवकोटा नेपाल निकट भए पनि उनी स्वतन्त्र पक्षबाट उम्मेदवार रहेका थिए । वाग्मती प्रदेशतर्फबाट उनी राष्ट्रियसभामा निर्वाचित बनेका छन् । हेटौडास्थित देवी माविमा चुनाव भएको थियो । हालै रिक्त रहेको राष्ट्रियसभा सदस्यमा एमालेले बादललाई उम्मेदवार बनाएको थियो । राष्ट्रियसभा सदस्यका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, तथा बाग्मती प्रदेशका सांसद्हरुले मत हाल्न पाउने अधिकार छ ।