विराटनगर/ कालोबजारी गरि बिरामी ठगी गर्न पलकिएका विराटनगरका केही फार्मेशीहरूले मनलाग्दी स्वास्थ्य सामाग्रीको चर्को मूल्य विरामीसँग असुली गरेको पाइएको छ ।

यसअघि दर्ता भएको केही फार्मेशीहरूले विरामी ठगी गर्दै आएकोमा अहिले दर्ता नभएको औषधी पसलहरूले पनि बिरामीलाई ठगी हुने गरेको पाइएको हो ।

गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई विराटनगरको अस्पताल चोकमा  दर्ता विना सञ्चालनमा रहेको फार्मेसीले फार्मेसीले ठगी गरेको भेटिएको छ । १८ दिन अस्पतालमा बसेका बिरामीका लागि फार्मेसीले तीन लाख ५ हजारको औषधि उपलब्ध गराएको बिल थमाएको छ ।

जसमा सर्जिकल ग्लोब्स मात्रै ५५ हजार रुपैयाँको छ । सिरहाको गोलबजार नगरपालिका–१३ का विन्देश्वर पासवानको उपचारका लागि औषधि खरिद गरेका उनका छोरा गरदीप पासवानलाई दर्ता विनाको फार्मेसी सञ्चालक शंकर यादवले ठगी गरेका हुन् ।

विरामी ठगी गरेको खुलेपछि औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार छापा हानेको थियो । तर, विभाग र प्रहरी आएको सुइको पाएपछि विरामी ठगी गर्ने यादव फरार भएका छन् । प्रहरी र विभागले उनको पसल बन्द गरि विरामी ठगी गर्ने यादवको खोजी कार्य जारी राखेको छ ।

कमिसनमा एम्बुलेन्स चालकले पु¥याइ दिन्छन् फार्मेशीमा

विन्देश्वर पासवानको गोल्डेनमा उपचार भएपछि दर्ता विना अस्पताल नजिकै सञ्चालनमा रहेको फार्मेसीसम्म उनलाई एम्बुलेन्स चालकले पु¥याइदिएका थिए । विरामी ल्याइदिए वापत हस्पिटल अगाडीको फार्मेशीले चालकलाई कमिसन दिने भएकोले उनीहरूले विरामीको आफन्तलाई सम्र्पक गराइदिने गर्दछन् ।

१८ औं दिनमा हिसाब गर्दा ४६ प्याकेट सर्जिकल ग्लोब्स अस्पताल पठाएको उल्लेख छ ।  फार्मेसीले एक दिन ६ प्याकेटसम्म अस्पताल पठाएको दाबी गरेको छ । एक प्याकेटमा ५० जोर सर्जिकल ग्लोब्स हुन्छ । तर अस्पतालले दैनिक ६ प्याकेट ग्लोब्स नमगाएको बताएको छ ।

फार्मेसीमा बिरामीका आफन्तले ३५ हजार रुपैयाँ जम्मा गराएका थिए । ‘सुरुमा ३५ हजार जम्मा गरेको थिएँ, पछि तीन लाख ५ हजारको औषधि भयो भन्छन्,’ विन्देश्वर पासवानले भने, ‘फार्मेसीले १२ प्रतिशत छुट दिने भन्दैछ ।’

फार्मेसीले बिल भने नोबेल मेडिकल कलेज अगाडि रहेको हेल्थकेयर फार्मेसीको प्रयोग गर्दै आएको छ । अस्पतालमा उपचार गर्दाको बिल भने दुई लाख ६ हजार उठेको छ । एकसाता भेन्टिलेटरमा राखेर उपचार गर्नु परेकाले सो बिल उठेको अस्पतालले जनाएको छ । फार्मेसीको बिल भने अस्पतालको भन्दा एक लाख रुपैयाँ बढी छ ।

फार्मेसीबाट ठगिएपछि आफन्तले औषधि व्यवस्था विभागको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा उजुरी दिएका छन् । उजुरीपछि छानबिन सुरु गरेको विभागले फार्मेसीले ठगी गरेको निष्कर्ष निकालेको हो ।

‘फार्मेसीले बिरामीका आफन्तलाई बढी औषधि र बढी बिल देखाएर ठगी गरेको देखिन्छ,’ कार्यालयका निमित्त प्रमुख सञ्जीव शार्मा कट्टेलले भने, ‘फार्मेसीले बिलमा उल्लेख गरेका परिमाण अस्पतालले दिएको प्रेस्किप्सनको भन्दा धेरै छ ।’

उनका अनुसार गोल्डेन अस्पताल अगाडि बोर्ड नै नराखी फार्मेसी सञ्चालन गर्ने यादवको नोबेल मेडिकल कलेज अगाडि पनि फार्मेसी छ ।

ठगी गरेको उजुरी आएपछि यादवलाई खोज्दै प्रहरी र विभागको टोली दुईवटै पसल पुगेको थियो । तर दुवै पसल बन्द गरेर पसल सञ्चालक फरार भएको उनले बताए ।

दुई फार्मेशी बन्द
विराटनगर महानगरपालिका ९ अस्पताल चोकका दुई वटा फार्मेसी बन्द गराएको छ । अर्काको लाइसेन्स प्रयोग गरेर औषधीको व्यापारिक कारोबार गरेको पाइएपछि बिभागले फार्मेसी बन्द गरेको हो ।

अनुगमन टोलि पुगेपछि एउटा फार्मेसीका सञ्चालक भने भागेका थिए । टाइम्स फर्मा र रियाङ्शी मेडिलाई रितपूर्वक व्यवसाय नगरेको भन्दै बन्द गरिएको छ । विभागको विराटनगरस्थित कार्यालयका निमित्त प्रमुख सञ्जीव कट्टेलका अनुसार कारोबार गर्ने सम्बन्धित व्यक्तिको नाममा लाइसेन्स नभएको र अर्कै व्यक्तिको नाममा रहेको लाइसेन्समा कारोबार गरेको देखिएपछि बन्द गरिएको हो ।