सिरहा । कोरोना भाइरस महामारीका बीच सिरहाको मिर्चैया नगरपालिकाभित्र विभिन्न स्थानमा खुलेआम हाटबजार लागिरहेको छ । 

सिरहा जिल्ला विभिन्न पालिकामा हाटबजारमा सयौंको संख्यामा भीडभाड रहेको छ । कोरोना महामारीको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय सिरहाले २५ जनाभन्दा भीडभाड नगर्न आग्रह गरे पनि हाटबजारमा भने सयौंको संख्यामा उपस्थित हुने गरेका छन् । 

बुधबार मिर्चैया नगरपालिका ५ स्थित मिर्चैया बजारमा सयौंको संख्यामा तरकारी किन्न आउनेहरूको घुइँचो लागेको थियो । सर्वसाधारणले कोरोनालाई अझै पनि बेवास्ता गरिरहेको मिर्चैयाका स्थानीय बताउँछन् । बजारमा सर्वसाधारणको भीडभाड अत्यधिक भए पनि सम्बन्धित निकय मौन रहेको छ । 

हाटबजारमा किनमेल गर्न आउने अधिकांश ग्राहकले मास्कको प्रयोग गरेका छैनन् भने सामाजिक दूरीको ख्याल नगरेको पाइएको छ । बजारमा सामान बेच्ने व्यापारीले पनि मास्कको प्रयोगबिना मालसमान निर्वाधरूपले बिक्री वितरण गरिरहेको स्थानीयको भनाइ छ 

सङ्क्रमणको जोखिम उच्च रहँदा रहँदै पनि हाटबजार नरोकिँदा समस्या बढ्दै गएको मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवले बताए । हाटबजार रोक्ने तयारी गरिरहेको भन्दै रोक्ने निर्णय गरेर मात्र नहुने कार्यान्वयनमा सबैले ध्यान दिनु पर्ने उनको तर्क छ । उनले बजार खुलेआम सञ्चालन भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए ।