विराटनगर/१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरूण कुमार बिसीले खुल्ला सीमाको फाइदा उठाउँदै तस्करीसँग मिल्ने प्रहरीहरूलाई तत्काल कारवाहीको दायरामा ल्याउने बताएका छन् । 

एक हप्ता अगाडी सरूवा भएर प्रदेश १ मा आएका डिआइजी बिसीले पूर्ण रूपमा तस्करी नियन्त्रण गर्ने दाबी गर्दै तस्कारसँग मिल्ने जुनसुकै तहमा रहेका प्रहरी अधिकारीहरू कारवाहीको दायरमा आउने बताएका हुन् । 

प्रदेश प्रहरी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै डिआइजी बिसीले आफ्नो कार्ययोजनामा तस्करी नियन्त्रण प्रथामिकतामा रहेकोले चोरी, तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्ने दाबी गरेका छन् ।

‘प्रदेश १ मा रहेको भारतसँग सीमा जोडिने जिल्ला झापा, मोरङ र सुनसरी हो । बोर्डर जोडिएको जिल्लामा तस्करी हुने गरेको जनगुनासो आउने गरेको छ,’ उनले भने, ‘मेरो ब्रम र क्षमताले भ्याएसम्म पूर्ण रूपमा तस्करी नियन्त्रणमा लागि पर्नेछु ।’

सुनसरी र मोरङमा सरूवा भएर पाँच दिन अगाडी आएका एसपी द्धोय सञ्जय सिंह थापा र जर्नादन जिसी सामुन्ने डिआइजी बिसीले भने, ‘तस्करी नियन्त्रणमा मेरो कार्ययोजना अनुसार मुल मर्म र दिशा निर्देशन भएर लाग्नुपर्दछ ।’ बिसीले अपराध अनुसन्धानमा पारदर्शी, निष्पक्ष भएर अपराध नियन्त्रणमा आफु लागि पर्ने बताए । ‘अपराध रहित समाज निर्माण गर्नु मुख्य देय हो,’ उनले भने, ‘आफ्नो कार्यकालभरी अपराध नियन्त्रणमा लागि पर्नेछु ।’ उनले प्रहरीलाई आर्थिक पारदर्शी कायम गराउन लागि पर्ने बताए । डिआइजी बीसी आफ्नो कार्ययोजना सार्वजानिक गर्दै प्रहरी सधैभरी नागरिक मैत्री भएर काम गनुपर्ने बताए ।

‘प्रहरी सधैभरी नागरिक मैत्री भएर सेवा प्रदान गरिनुपर्दछ,’ डिआजी बिसीले भने, ‘मातहतमा सम्पूर्ण प्रहरीलाई नागरिक मैत्री भएर सेवा  दिन निर्देशन दिइसकेको छु ।’  प्रहरीले मानवअधिकार मैत्री भएर विपद व्यवस्थापनमा पनि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले समाजमा शान्ति सुरक्षाको अवस्थालाई कायम गरेर कानुन कार्यान्वयन तथा अवैध गतिविधि नियन्त्रण गर्ने बताए । 

इनिस्पेक्टरदेखि प्रहरी सेवामा प्रवेश गरेका बिसी एसपी रहदा मोरङमा ११ महिना बसेका थिए । भद्र र सालिन स्वभाव तथा कानुन कार्यान्वयनमा कठोर प्रहरी अधिकारी भनेर चिनिने बिसीले प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्व लिएका हुन् । उनी मोरङको उर्लाबारीका सनम शाक्यको हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणको सफल अनुसन्धान गरेका प्रहरी अधिकारी हुन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत डिआइजी बिसी पूर्वी नेपालका बारेमा निक्कै जानकार प्रहरी अधिकारी हुन् । प्रदेश १ का विभिन्न प्रहरी युनिटमा बसेर अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाका सवालमा कुशलतापूर्वक काम गरेको लामो अनुभव उनीसँग छ ।

उनी मोरङमा एसपी रहदा धर्म, पेसा र राजनीतिसमेत जोडिएका विभिन्न एवम् जघन्य प्रकृतिका घटना त्यतिबेला भएका थिए । सबै चुनौतीलाई पार लगाएर अपराधिक घटनाको अनुसन्धानलाई सफल बनाएर निस्कर्षमा पु¥याउँदै मोरङबाट बिदा हुँदा बिसीको चौतर्फी प्रशंसा भएको थियो ।