सुनसरीको वराहक्षेत्र ८ स्थित शुक्रबारे कोशीबाँधबाट १ सय २५ केजी गाँजासहित तस्करहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नक्कली पेस्तोलसहित पक्राउ परेका तस्करहरुले चतराबाट प्रकाशपुरतर्फ को. २ प. ३५०२ नम्बरको मोटरसाइकल र को २ च ११२ नम्बरको मारुती भ्यान प्रयोग गरी गाँजा तस्करी गरिरहेको अवस्थामा सवारीसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए । 

राति १ बजे चतराबाट सप्तकोशी बाँध हुँदै प्रकाशपुरतर्फ सवारी साधनमा प्रतिबन्धित लागू औषध गाँजा बिक्री वितरणका लागि ल्याउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो, इन्सपेक्टर राजवंशीले भने, ‘सवारी साधन माथि शंका लागी चेकजाँच गर्ने क्रममा प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल र मारुती भ्यान छाडेर भागेका पनि तत्कालै नियन्त्रणमा लिन सफल भयौं ।’

नियन्त्रणमा लिइएकाहरु बराहक्षेत्र– ६ चक्रघट्टी बसपार्कका भुपेन राय र रामधुनी–७ चौसठी बिघाका अमिर लिम्बू रहेको प्रहरीको भनाइ छ । 

सवारी साधन तलासी लिँदा अमिर लिम्बूले लगाएको सेतो जिन्सको ज्याकेटको बाँयातर्फ भित्री गोजीमा गाँजा जस्तो देखिने २५ ग्राम वस्तु कागजमा पोको बनाई राखेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ । साथै, को.२ च. ११२ नम्बरको मारुती भ्यानभित्र ४ ओटा सेतो र १ ओटा पहेलो रङगको प्लाष्टिक भित्र सेतो प्लाष्टिकमा पोको बनाई राखेको प्रतिबन्धित लागू औषध (गाँजा) १२५ केजी रहेको । इन्सपेक्टर राजवंशीले जानकारी दिए । 

मारुती भ्यानको अगाडि बाँयातर्फको डिकीभित्र नक्कली जस्तो देखिने रिभल्भर १ थान र भुपेन रायको साथबाट स्याम्सुङ कम्पनीको १ था मोबाइलसमेत फेला परेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएकाहरुको थप अनुसन्धान भइ रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ ।