मोरङको बेलबारीबाट लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बेलबारी नगरपालिका १ गाईघाट टोलबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गाईघाट टोलका ४६ वर्षीय बुद्धिमान तामाङ र धनकुटा हिलेका दुई जना महिला छन् ।

बिहीबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङसहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तीनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।