विजयपुर / मामाले धरान ल्याएर बेचेकी एक युवतीलाई वर्षौंसम्म यौनशोषण गर्ने नेपाल प्रहरीका असइ जितेन्द्रनारायण मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दर्ता भएको छ ।

युवतीले असइ मण्डलविरुद्ध जबरजस्ती करणीको मुद्दा साउन ८ गते दिएकी हुन् । युवतीले न्यायका लागि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा पनि ठाडो निवेदन दिएकी थिइन् । निवेदन दिएपछि यौनशोषण गर्ने असइ मण्डल प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका थिए । उनलाई प्रदेश प्रहरी कार्यालयले सोधपुछका लागि भन्दै तानेको थियो । असइ साउन ३ गते ‘बाहिर मिल्छौँ’ भन्दै निस्किए । निस्किएपछि आफूलाई ‘सल्लाह गर्न आऊ’ भन्दै बोलाएको युवतीले बताइन् ।

सल्लाहको लागि पुग्दा असइ मण्डलले लेखापढी गरेर बसेको ती युवतीले बताइन् । मण्डलले युवतीलाई विगतका सबै सम्बन्ध र लेनदेन समाप्त भएको आशयको कागज हस्ताक्षर गराउन खोजेका थिए । तर, युवतीले हस्ताक्षर भने गरेकी छैनन् । मण्डलले ५० हजार रुपैयाँ दिन्छु भन्दै हस्ताक्षर गर्न कर लगाएको युवतीले बताइन् । लेखापढी गर्दा मण्डलले श्रीमती पनि ल्याएको युवतीले बताएकी छन् । उक्त कागज लेख्ने लेखन्दास रुपेश यादवले ती युवतीलाई किन असइ सा’पलाई फसाइस् भन्दै एक पक्षीय कागज लेखेको बताएकी छन् । लेखन्दास यादवको लेखापढी प्रमाण–पत्र नं. १५०५ रहेको छ ।

यादवले ती युवती उपस्थित नभए पनि दुवै पक्षको समझदारीमा भन्दै कीर्ते कागज लेखेका छन् । असइ मण्डलले अहिले पुनः जिल्ला ट्राफिक प्रहरी झापा अन्तर्गत दमक केर्खा बिट नै गएको ती युवतीले बताएकी छन् । मण्डलले पदको दुरुपयोग गर्दै ट्राफिक प्रहरीलाई भनेर ती युवतीलाई ३ गते विराटनगरदेखि आउँदै गर्दा २ ठाउँमा गाडीबाट ओर्लनसमेत लगाएका थिए । ती ट्राफिक प्रहरीले ‘असइ जितेन्द्रसा’पको श्रीमती हुनुहुन्छ रे ओर्लनू भनेको’ युवतीले बताइन् ।

प्रहरी असइ मण्डलले गाडी नम्बर दिएर नियन्त्रण लिन लगाएको युवतीको भनाइ छ । ट्राफिक प्रहरीले उक्त गाडीलाई दुहबी र खनार जुटमिल छेउमा रोकेर झर्न लगाएको युवतीले बताइन् । तर, आफू झर्न नमानेपछि गाडी चालकलाई समेत विभिन्न कागज–पत्र माग्दै दुःख दिएको युवतीले बताइन् । त्यसपछि धरानमा पनि बाँझगरा छेउमा पनि २ जना आएर आफ्नो कोठा देखाउन भनेको युवतीको भनाइ छ । सबैलाई प्रयोग गरेर घटनालाई दबाउन असइ जितेन्द्र लागिपरेका छन् ।

उनलाई सुरक्षामा पनि चुनौती भएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले युवतीको जाहेरी दर्ता गरेर कानूनी प्रक्रिया सुरु गरेको बताएका छन् । उनले असइ मण्डलले अहिले कहाँ छन् भन्ने पनि जानकारी नभएको बताए । असइ मण्डलले युवतीको शारीरिक परीक्षण गर्नुपर्ने माग गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरेको छ । मण्डलले युवतीलाई अन्तिम पटक २०७७ चैत २८ गते राति इटहरी ६ स्थित गोरखा डिपार्टमेण्ट स्टोरपछाडि रहेको अरुण होटल एण्ड लजमा जबरजस्ती करणी गरेका थिए ।

उक्त कुराको पुष्टि इटहरी प्रहरीले गरेको युवतीले बताएकी छन् । होटलका सञ्चालकसहित ३ जनाले असइ मण्डलले लिएर राखेको प्रमाणित गर्दै कागजमा हस्ताक्षर गरेका छन् । साथै उक्त होटलमा बस्दा होटलको खातामा दर्ता गराएको नम्बर पनि असइ जितेन्द्रकै भएको युवतीले बताइन् ।

ती युवतीलाई १३ वर्षको उमेरमा मामा (आमाका कान्छा काकाका छोरा) मेघराज प्रधानले भान्जीलाई गुवाहाटी घुमाउन लान्छु भनी धरान ल्याएर बेचेका थिए । प्रधानले रामकुमार राईलाई बिक्री गरेका थिए । राईले युवतीलाई जबरजस्ती लडाउने र हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेका थिए । जबरजस्ती करणीबाट उनी गर्भवती बनिन् । त्यसपछि रामकुमार पनि भागे । अहिले उनीसँग रामकुमारको ६ वर्षीया छोरी छन् ।

त्यसपछि करिब चार वर्षअघि धरानमा प्रहरी हवल्दार जितेन्द्र (हाल असइ)सँग भेट भएको थियो । जितेन्द्रले उनलाई श्रीमती बनाउने भन्दै आफू सरुवा भएसँगै कहिले भोजपुर, कहिले झापा, कहिले इटहरी, कहिले लौकहीमा लग्थे र होटलमा राख्थे । दुईपटक जितेन्द्रले दबाव दिएर गर्भपतनसमेत गराएको उनी बताउँछिन् । उनीसँग गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएका र परीक्षण गरेका कागजातसमेत रहेको बताउँछिन् ।

जितेन्द्र मण्डल झापा सरुवा भएपछि श्रीमती रहेको थाहा पाइन् । त्यसपछि भने आफूलाई अन्यायमा पारेको भन्दै सञ्चार माध्यम तथा प्रहरी कार्यालय धाउन थालिन् । ३ दिन त प्रदेश प्रहरी कार्यालयमा धर्नासमेत दिएको बताउँछिन् उनी । अन्तिममा भने इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दर्ता भएको छ ।

तर, उक्त जाहेरी परे पनि जितेन्द्र भने विभिन्न कानूनी क्षेत्रमा काम गर्नेहरूसँग आफू २ महिना मात्र निलम्बित हुने र आफ्नो जागिर केही नहुने भन्दै हिँड्ने गरेका छन् ।