नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड०ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याए । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताए ।

उनले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उनले जानकारी दिए ।

आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उनको भनाइ थियो । समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा(एमाले)सँग एकता गरे पनि नेतृत्वले धोका दिएकाले एकता लामो समय टिक्न नसकेको उनको तर्क थियो । 

ठूलो मेहेनतले अहिलेको सत्तारुढ पाँच दलको गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष दाहालले भने, “यो गठबन्धनलाई रक्षा र सुदृढ गर्नु अहिलेको आवश्यकता हो ।” उनले भने, “अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ । यसतर्फ युवा सचेत हुन आवश्यक छ ।” अर्को प्रसङ्गमा उहाँले विज्ञान प्रविधिको उच्चतम रूप प्रयोग गरी भेला गर्न सफल भएकामा वाइसिएललाई बधाई तथा धन्यवाद व्यक्त गरे ।