धरान । इटहरी उपमहानगरपालिका–६ धरान लाइनबाट दुर्लभ वनस्पती यार्सागुम्बासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले विशेष सूचनाका आधारमा दुईजनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार खोटाङ रावावेशी गाउँपालिका–५ का २७ वर्षीय समिर गुरुङ र संखुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार लिम्बूलाई पक्राउ गरेको हो ।
उनीहरूले बोकेको जेब्रा झोला खानतलासी गर्दा तीनवटा बजारे झोलामा पोको पारेर राखेको ३ केजी यार्सागुम्बा बरामद गरेको हो । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि तरहरा सव डिभिजन वन कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।