पथरीशनिश्चरे । नगरलाई रेविज रोग मुक्त गर्ने योजना अनुरुप मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यायले हालसम्म ५ सय ७५ वटा सामुदायिक कुकुरको स्थायी वन्ध्याकरण गराएको छ ।
नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा नगरको पशुपंक्षी शाखामार्फत ३ दिने कार्यक्रममा १३५ भाले र ७८ पोथी गरी २ सय १३ सामुदायिक कुकुरको वन्ध्याकरण भएको शाखा प्रमुख हेमचन्द दहालले जनाए ।
हालसम्मको तिन वर्षे अवधिमा पहिलो वर्ष १ सय ६०, दोस्रो वर्ष २ सय २ वटा र हालको तेस्रो वर्ष २ सय १३ गरी कुल ५ सय ७५ वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरिएको छ । वडाको टोल टोलमा पुगेर सडकमा छाडा अवस्थाका सामुदायिक कुकुर समाती वन्ध्याकरणसँगै रेविजको सुई लगाएर उनीहरुकै बसोबास स्थानमा ल्याएर छोडिएको छ ।
नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितको टोलीले वडा नम्बर ६ स्थित मंगलबारेमा रहेको पशु सेवा केन्द्रमा सञ्चालित वन्ध्याकरणको अवस्थाको अनुगमन गरेको छ । साथै टोलीले, नगरले ४ लाख ५० हजार रुपैयाँमा खरिद गरेको पशुपंक्षीको औषधिका साथै आधारभूत स्वास्थ्य सेवा केन्द सहितको गतिविधिको पनि अनुगमन गरेको छ ।
डाक्टहरु इन्द्रनारायण साह, कृष्णकुमार यादव, सूर्य साह, सुवास चौधरी, राघवेन्द्र तिवारी सहितको पशु सेवा प्राविधिक टोलीले वन्ध्याकरण कार्य सञ्चालन गरेको थियो ।
वन्ध्याकरणका लागि यो वर्ष ५ लाख रुपैयाँ विनियोजित गरिएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । सेवा केन्द्रबाट आवश्यक औषधि र खोप पनि निःशुल्क उपलब्ध हुँदै आएको छ ।