विराटनगर । ‘प्रथम जिल्लास्तरीय अन्तरविद्यालय मिल्स कप नकआउट फुटबल टुर्नामेन्टमा मोरङको रङ्गेलीस्थित सनरे बोर्डिङ स्कुल र विराटनगरको मोडर्न एरा स्कुल अन्तिम आठमा प्रवेश गरेका छन् ।

विराटनगर–१५ को फार्क क्लब रानीको आयोजनामा जुट मिलको खेलमैदानमा आइतबार सम्पन्न खेलमा सनरेले विराटनगरको बिकेभिएम स्कुललाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

जितका लागि सनरेका आशाराम खवास र विवेक बस्नेतले २–२ गोल गर्दा अमन खवासले एक गोल गरे । खेलको म्यान अफ दी म्याच सनरेका विवेक बस्नेत घोषित भए । दोस्रो खेलमा विराटनगरको मोडर्न ऐरा स्कुलले अर्पण स्कुललाई २–० गोलले हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

जितको लागि दुवै गोल मोडर्न एराका आयुष थापाले गरे । खेलको म्यान अफ दी म्याच पनि आयुष नै घोषित भए । सोमबारको पहिलो खेल विराटनगरको सिद्धार्थ र सुन्दरहरैंचा नगरपालिकाको पूर्वाञ्चल एकेडेमीबीच हुँदैछ । त्यस्तै दोस्रो खेल विराटनगरको सगरमाथा र डिपिएस स्कुलबीच हुने आयोजकले जनाएको छ ।

उद्घाटनको दिन विराटनगरको गोदावरी बोर्डिङ स्कुल र ग्रामथान गाउँपालिकाको जनम मेमोरियल बोर्डिङ स्कुल विजयी बनेका थिए । गोदावरीले एजेलिया बोर्डिङ स्कुललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । खेलमा गोदावरीका प्रजित भुजेल, केवल राई र विप्लव राउतले गोल गरेका थिए ।

सान्त्वना गोल एजेलियाका जितेन्द्र ठाकुरले गरे । खेलको म्यान अफ दी म्याच विप्लव राउत घोषित भए । दोस्रो खेलमा ग्रामथानले जनक मेमोरियल स्कुललाई २–० गोलले हराएको छ । खेलमा विकासकुमार साह र अविषेककुमार देवले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच जनक मेमोरियलका विसप पिगा घोषित भए ।

प्रतियोगितामा मोरङका १६ वटा टिम सहभागी छन् । प्रतियोगितामा विराटनगरको गोदावरी, एजेलिया, मोडर्न ऐरा, अर्पण, सिद्धार्थ, डनबस्को, बिकेभिएम, सगरमाथा, डिपीएस, गौतमबुद्ध र एभरेष्ट स्कुलको सहभागिता छ ।

यस्तै रङ्गेलीबाट सनरे, सुन्दरहरंैचाबाट पूर्वाञ्चल एकेडेमी, बूढीगङ्गाबाट जेभियर र युनिक स्कुल, ग्रामथान गाउँपालिकाबाट जनक मेमोरियल स्कुल सहभागी रहेको प्रतियोगिता पुस ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन्।

प्रतियोगिताको सह–आयोजकहरूमा रानी युवा क्लब, साइनो स्पोर्टिङ क्लब र मिल्स भेट्रान क्लब रहेको छ भने सहकार्य प्याब्सन विराटनगरले गरेको छ  । प्रतियोगिताको संरक्षक मिल्स गोल्ड कप फुटबल ट्रष्ट रहेको छ ।

khel123