पथरी । मोरङको कानेपोखरी–७ बरगाछीको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३ लाख नाफा गरेको छ ।
मङ्गलबार सम्पन्न संस्थाको १० औं वार्षिक साधारणसभामा संस्थाले गरेको आम्दानी ३ लाख ४ हजार ५ सय २७ रुपैयाँ रकम सार्वजनिक गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष उमा राना मगरले प्रतिवेदन प्रस्तुत गर्दै उपस्थित शेयर सदस्यहरूमाझ सार्वजनिक गरेकी थिइन् ।
गत वर्ष संस्थाले १ लाख ७७ हजार ६ सय ८९ रुपैयाँ शुद्ध बचत गरेको थियो । संस्थाले यस वर्ष शेयर पुँजी ४२ लाख १० हजार ३ सय रुपैयाँ पुर्याएको छ । यसवर्ष संस्थाले २ करोड ४५ लाख ४१ हजार ६ सय ३८ रुपैयाँ बचत गरेको छ । त्यसैगरी कोष हिसाब ७८ लाख ५१ हजार ४ सय १० पुगेको छ ।
त्यसैगरी शेयर सदस्यहरू १ देखि २ माउ बाख्रा पाल्ने ३ सय ४६ घर, ३ देखि १० माउ बाख्रा पाल्ने १ सय ९७ घरधुरी, ११ देखि २० माउ बाख्रा पाल्ने १७ घरधुरी र २० माउ बाख्राभन्दा माथि पाल्ने ७ घरधुरी रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले यस आर्थिक बर्षमा ५१४ साना पशु, ४९ वटा ठुलो पशुको बिमा गरेको छ ।

तीमध्ये २८ वटा साना पशुको मृत्यु भएकोले क्षतिपूर्ति बापत ३ लाख ७१ हजार ५ सय रुपैयाँमध्ये २ लाख शेयर सदस्यको दुर्घटना विमाको रकम भुक्तानी दिएको छ ।
किसानको उत्पादनको उचित मुल्य, बिचौलियाको अन्त्य र बजारीकरण सुनिश्चितताको लागि संस्थाले २०७३ सालदेखि जीवित तौलअनुसार खसी–बोका खरिद बिक्री व्यवसाय, पशु सन्तुलित आहार, उन्नत जातका घाँसका बिउ विजन खरिद बिक्री गर्दै आइरहेका छन् ।
संस्थाले किसानले पालेको खसीबोका, पाठापाठी उचित मूल्यमा खरिद गरी बजार खोजी बिक्री गर्दै आएको छ । कार्यक्रममा संस्थासम्म आउने सडक ग्राभेलको लागि रकम छुट्याउन गाउँपालिकासँग संस्थाकी अध्यक्ष मगरले अनुरोध गरेकी थिइन् । कार्यक्रम उमाराना मगरको सभापतित्वमा र कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको थियो ।
त्यसैगरी अतिथिहरूमा वडा नं. ७ का वडाध्यक्ष मोहन अधिकारी, ६ का वडाध्यक्ष खड्ग बस्नेत, ग्रामिण सुधार सामुदायिक वनका अध्यक्ष नवीन राई, हिमप्रसाद तिम्सिनालगायत रहेका थिए । ४१ वटा महिला समूहमध्ये २४ वटा समूह मिलेर २०६८ सालमा संस्था सुरु गरेका थिए । ९ सय २ महिला र १८ जना पुरुष गरी जम्मा ९ सय २० जना सदस्य रहेका छन् ।
शेयर सदस्यलाई सम्मान तथा पुरस्कार
दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले ११ जना सेयर सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाले ज्येष्ठ तथा एकल महिला सृजनशील समूहकी पवित्रा नेपाललाई सम्मान गरेको छ ।
त्यसैगरी ऐच्छिक बचततर्फ उत्कृष्ट हलेसी समूहकी गोमा पनेरु, बाल बचततर्फ लालीगुराँस समूहका आरभ खड्का, शेयर तर्फ उत्कृष्ट जनचेतना समूहबाट कमला लिम्बू, नियमित बचत तर्फ नवज्योति समूहबाट सुस्तिका जोगी, दीर्घकालिन वचत तर्फ नवज्योति समूहकी कमला देवी राई, उत्कृष्ट कारोबारमा दीपशिखा समूह छनौट भएको छ ।
त्यसैगरी उत्कृष्ट उद्यमीमा शुभकामना समूहबाट कमला योञ्जन, व्यावसायिक कारोबारमा हितैषी समूहबाट हरिमाया भट्टराई, सञ्जीवनी समूहबाट पुष्पा घिमिरेलाई संस्थाले पुरस्कृत गरेको छ ।