सुनसरी । साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री केन्द्र इटहरीमार्फत् रासायनिक मल बिक्री वितरणको जिम्मा पाएका सहकारी संस्थालाई कारबाही गरिएको छ । 

ती दुई संस्थामार्फत् बिक्री वितरणका लागि जिम्मा पाएको कोसी गाउँपालिकाको सहकारीलाई कारबाही गरिएको सहकारी समन्वय समितिका अध्यक्ष तममुल हुसेनले जानकारी दिए ।

दुई संस्थाबाट ल्याइएको ५० केजीको डिएपी २४ सय  रुपैयाँ, ५० केजीको युरिया ९ सय ५० रुपैयाँ र ५० केजीको पोटास १८ सय रुपैयाँका दरले बिक्री वितरण गर्नुपर्नेमा १ सयदेखि डेढ सय रुपैयाँ बढी लिई बिक्री गर्ने लौकही सहकारी संस्थालाई कारबाही गरिएको उनले जानकारी दिए ।

किसानलाई सहज र सुलभ दरमा उपलब्ध गराउनका लागि अनुदानमा मल वितरणसम्बन्धी निर्देशिका २०७५ को नियम १५ विपरीत मल बिक्री वितरण गर्ने सहकारी संस्थालाई कारबाही गरिएको हो । 

कतिपय सहकारी संस्थाले सुनसरीका किसानलाई लक्षित गरी ल्याएको मल सप्तरीको सहकारी संस्थामा पठाउने गरेको स्थानीयको आरोप छ । यतिबेला किसान मल नपाएर हैरान छन् । सङ्घीय सरकारले आवश्यकताभन्दा कम मल पठाएका कारण किसानलाई मल अभाव भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रजिअ यादवले भने, ‘सुनसरी जिल्लामा यसवर्ष मल अभाव भएकै हो, मागको २० प्रतिशतसमेत आपूर्ति भएको छैन ।’ सुनसरीका किसानले यतिबेला मल पाउन सकेका छैनन् । इनरुवा नगरपालिका–९ स्थित बबियाका किसान जावेद मन्सुरीले मल आपूर्ति नहुँदा उत्पादन घट्ने चिन्ता बढेको बताए । उनले सम्बन्धित पक्ष मल आपूर्तिमा गम्भीर नबनेको बताए ।  उनले भने, ‘मलका लागि सहकारी संस्था धाउँदै आए पनि मल पाउने निश्चित भने छैन ।’

रासायनिक मल नपाएको भन्दै केही दिनअघि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका किसान आन्दोलित बनेका थिए । पटक–पटक ध्यानाकर्षण गराउँदासमेत आफूहरूलाई रासायनिक मल समयमै उपलब्ध नगराएको भन्दै भोक्राहा नरसिंह गाउँपालिका–३ फुलचौकस्थित पूर्व–पश्चिम राजमार्ग स्थानीय किसानहरूले अवरुद्ध गरेका थिए ।

गहुँ छर्ने सिजन सुरु भए पनि रासायनिक मल नपाउँदा खेती लगाउन नपाएको बताउँदै भोक्राहा नरसिंह गाउँपालिकाका किसान लालदेव मेहताले स्थानीय जनप्रतिनिधिदेखि सम्बन्धित निकायलाई मल उपलब्ध गराउन गरेको ध्यानाकर्षणको सुनुवाइ नभएको गुनासो गरे ।