विराटनगर । गैरकानूनी मानिएको मिटर ब्याजमा लगानी गर्ने विराटनगरका कुख्यात मिटरब्याजी मन्टु भनिने सञ्जयप्रसाद रौनियार बकपत्र उल्टाएर जेलमुक्त हुने तयारी सुरु गरेका छन्् । जेलभित्रबाटै मन्टुले पीडितहरूलाई दबाव र प्रलोभनमा पारेर बकपत्र उल्टाएर थुनामुक्त हुने योजना बनाएका हुन् ।

कीर्ते कपाली तमसुक बनाएर धाकधम्की दिँदै अकुत ब्याज असुलेर आपराधिक कार्य गरेको आरोपमा फागुन १७ गतेदेखि मन्टु पुर्पक्षको लागि थुनामा छन् । १७ जना पीडितहरूले जालझेल गर्दै चर्को मिटर ब्याज असुलेर धितो राखेको सम्पत्ति हडपिएको आरोप लगाउँदै मन्टुविरुद्ध मोरङ प्रहरीमा किटानी जाहेरी दिएका थिए । मोरङ प्रहरीले २०७७ मङ्सिरमा मन्टुलाई पक्राउ गरेर अनुसन्धान गरी ठगी र आपराधिक लाभ लिएको कसुरमा जिल्ला अदालत मोरङमा अलग–अलग मुद्दा दर्ता गराएको थियो ।

अदालतको आदेशबाट पुर्पक्षका लागि जेल चलान भएका कुख्यात मिटरब्याजी मन्टुले जेलभित्रैबाट सबै पीडितहरुको सम्पत्ती फिर्ता दिएर अदालतमा बकपत्र फेर्न लगाइसकेका छन् । स्रोतका अनुसार मन्टुले सम्पत्ति फिर्ता दिँदा पनि बयान फेर्न नमान्नेहरूलाई गुण्डा प्रयोग गरेर धाकधम्की पनि दिएका थिए ।

यसैले अदालतमा वादी पक्षका सबैले बकपत्र उल्टाइसकेको अदालत स्रोतले बताएको छ । ‘पीडित भनिएका वादीले फैसला हुनुभन्दा अगाडि हुने बकपत्रमा बयान फेरेकोले कुख्यात मिटर ब्याजी मन्टुले अदालतबाट सफाइ पाएर थुनामुक्त हुने सम्भावना बढेर गएको छ’–स्रोतले भन्यो । वर्षांैदेखि घरजग्गा धितो पास गराएर नक्कली कपाली तमसुक बनाएर चर्को ब्याज असुलेको आरोपमा मन्टुविरुद्ध १७ जना  पीडितहरूले अलग–अलग आपराधिक लाभ लिएर ठगी गरेको आरोपमा किटानी जाहेरी दिएका थिए ।

मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वरी पराजुलीको इजलासले सुनुवाइ भएका १७ वटा अलग–अलग मुद्दामध्ये ४ वटामा धरौटी लिएर र १३ वटा मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।

अभियोगपत्रमा मन्टुविरुद्ध १ करोड ९२ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति माग दाबी गरिएको छ । मन्टुले सर्वसाधारणबाट ९२ लाख कर्जाको ७ करोड ७० लाख रुपैयाँ असुली गरेको पीडितहरूको जाहेरीबाट खुलेको छ । यसैगरी मिटरब्याजी मन्टु र उनकी श्रीमतीले जिल्ला मातपोत कार्यालय मोरङबाट तीस जनाभन्दा बढीबाट जग्गा आफ्नो नाममा राजीनामा नामसारी गराएको फेला परेको थियो ।

मन्टुविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि उजुरी दर्ता भएको थियो । मन्टु कतिसम्म धूर्त थिए भने उनले मरिसकेका बाबुको सही कीर्ते गरेर भाइलाई बञ्चित गर्दै एकलौटी घरबहाल सम्झौता गरेर भाडा असुल्दै आएका थिए । विराटनगर बुद्धचौकमा रहेको घर अस्पताललाई भाडा लगाएर मासिक डेढ लाख भाडा लिए पनि मन्टुले ४० हजार मात्र लिएको कर छली गरेका थिए ।

मिटरब्याजमा लगानी गर्ने मन्टुले सर्वसाधारणको जग्गा नामसारी गरी कपाली तमसुक बनाएर ऋण दिने गरेका थिए । कानूनी मान्यताअनुसार १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने प्रावधान रहेको छ ।

तर, मन्टुले ऋण दिएपछि सर्वसाधारणसँग ६–६ महिनाभित्र तिरेमा सयकडा ३ अर्थात् वार्षिक ३६ प्रतिशत ब्याज लिने र यदि ६ महिनाभन्दा बढी लगाएमा प्रत्येक ६–६ महिनामा ब्याज साँवामा जोडी सयकडा ५ प्रतिशत गर्दै बढाउने गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ ।

अदालतमा दायर भएको मुद्दामा सरकारी वकिलको कार्यालयले १ करोड ९२ लाख ८५ हजार २ सय २६ रूपैयाँ क्षतिपूर्ति माग दाबी राखेको छ ।

समाजमा परम्परागत रूपमा चल्दै आएको सामन्तीप्रथा अनुसार साहु महाजन बनेर एक ऋणीसँग पटक–पटक ल्याप्चे लगाएर ब्याजदेखि स्याजसम्म एकै पटक असुल्ने मन्टुले करोडौं रुपैयाँ सर्वसाधारणबाट असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एक दशकदेखि गलत नियतले ऋण दिएर गाउँका सोझासिधा सर्वसाधारणलाई ऋणी बनाई मिटरब्याजको धन्दा चलाउने मन्टु र उनको श्रीमती ज्योति रौनियारको नाममा करोडौं मूल्य बराबरको ६० कित्ता जग्गा रहेको देखिएको छ ।

हालसम्म सर्वसाधारणको ४० कित्ता जग्गा सञ्जयको नाममा देखिएको छ । उनकी श्रीमती ज्योति रौनियारको नाममा २० कित्ता जग्गा राजीनामा पास गराइसकेको खुलेको छ ।

गैरकानूनी ढङ्गले अकुत सम्पत्ति आर्जन गरेको र मिटरब्याजमा लगानी गरी मोरङका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई ‘टाट’ पल्टाएपछि तीन जनाले २०७७ मङ्सिर ७ गते रौनियार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका छन् । विभागमा दर्ता भएको २१३१ नम्बरको उजुरीका अनुसार ०७० सालयता रौनियारले अदालतमा सर्वसाधारणविरुद्ध तीन सयवटा लेनदेन मुद्दा दायर गरेको उल्लेख छ ।

मन्टुसँग मोरङको धनपालथान, जहदा, रङ्गेली, सुनवर्षी र विराटनगरका विभिन्न गाउँका बासिन्दाले वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे ।

तर, मन्टुले गलत तरिकाले ती स्थानीवासीलाई ठगी गर्न थालेको उनीहरू बताउँछन् । मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसा उठाउन एजेन्ट गाउँमा खटाउने गरेका थिए ।

पीडितलाई सहयोग गर्नेहरू त्रसित
दबाव र प्रलोभनमा पारेर सबैलाई बकपत्र उल्टाउन लगाई थुनामुक्त हुन लागेको हल्ला चलेपछि पीडितलाई सहयोग गर्ने सहयोगीहरू कुख्यात मिटर ब्याजी मन्टुदेखि त्रसित हुन थालेका छन् ।

जेलमुक्त भएपछि मन्टुले बदलाको भावना राखेर सहयोगीहरूलाई दुःख दिने मात्र नभएर ज्यानसमेत लिनसक्ने जोखिम बढेको सहयोगीहरू बताउँछन् । एक सहयोगीका अनुसार मिटर ब्याजी मन्टुबाट ठगिनेहरू अझै धेरै छन् । यसैले मन्टु थुनामुक्त भएमा उनीहरू पनि जोखिममा पर्नेछन् ।