धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नगर क्षेत्रका विद्यालयहरुमा भौतिक उपस्थितीमा हुने पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि नगर क्षेत्रका विद्यालयहरुमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर गरिने पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
नगर क्षेत्रका सरकारी कार्यालयका कर्मचारीहरु तथा स्थानीयबासीहरुमा कोरोनाको सङ्क्रमण देखिने क्रम बढेकाले भौतिक रुपमा उपस्थित भई विद्यार्थीहरु भेला गरी पठन पाठन गर्ने गराउने कार्य बन्द गर्ने निर्णय भएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।
उनका अनुसार यो अवधिमा विद्यालयको प्रशासनिक काम भने रोकिने छैन । विद्यार्थी सिकाई सहजिकरण निर्देशिका–२०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुको सिकाइमा आवश्यक सहजिकरण गरिनेछ ।
बैठकले वालवालिका, शिक्षक, कर्मचारी तथा अभिभावकहरुमा कोरोना भाइरसको लक्षण देखिएमा वा शंका लागेमा त्यस्ता व्यक्तिहरुलाई कोरोना जाँचका लागि स्वास्थ्य संस्था पठाउने, होम आइसोलेशनमा बस्न लगाउने र नगरपालिका अथवा नजिकको स्वास्थ्य केन्द्रमा त्यसको जानकारी गराउन पनि नगरबासीमा आग्रह गरेको छ ।
कोरोना खोप लगाउन छुटेका १२ बर्षदेखि १७ बर्ष उमेर समूहका विद्यार्थी र १८ बर्ष उमेर समूह भन्दा माथिका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई कोरोनाको खोप लगाउने अभियानमा आवश्यक समन्वय र सहजिकरण पनि गरिने भएको छ ।
माघ ६ गते नगरमा सञ्चालन हुने भनेर पत्राचार गरिएको प्रद्यानाध्यापकहरुको बैठक पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । साथै, सबै शिक्षण संस्थाहरुले अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस वा बार्षिक उत्सव जस्ता सार्वजनिक समारोहका कार्यक्रमहरु सञ्चालन नगर्न पनि बैठकले आग्रह गरेको छ ।