धरान । धरान उपमहानगरपालिकाले बचत तथा ऋण सहकारी संस्थामा बेथिति मौलाउँदै गएकाले त्यसलाई व्यवस्थित गर्ने भएको छ । 

सहकारीको मान्यताअनुसार वार्षिक साधारणसभा नगर्ने तथा ठेगानाविहीन भएका सहकारीको नियमन गर्ने धरान नगरका प्रमुख तिलक राईले बताए । उनले सहकारीमा बेथिति बढेको जनगुनासो व्यापक आउन थालेकाले पनि सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुरूप नचलेका सहकारीको नियमन गरिने बताए ।

बिहीबार धरानको बोधिचित्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यक्रमा नगर प्रमुख राईले पछिल्लो समय धरानका सहकारीहरूमा आर्थिक अनियमितता भएको घटनाहरू बाहिरिँदै गएकाले पनि बेलैमा व्यवस्थित गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘अहिले नै सरकारलाई नियमन नगर्ने हो भने भोलि ठूलो समस्या उत्पन्न हुने देख्दै छु, त्यसकारण नियमन गर्न आवश्यक हुँदै गएको छ ।’ 

उनले थपे, ‘धेरैजना निवेदन लिएर नगरपालिकामा आउनुहुन्छ । मेरो पैसा त फलानो सहकारीमा राखेको थिएँ, उठाइदिनुप¥यो भनेर । त्यतिबेला हामीले के गर्ने ? त्यसकारणले गर्दा अब उपमहानगरपालिकासँग जे व्यवस्था छ, त्यसलाई हामीले अनुगमन गर्नुपर्छ र नियमन गर्नुपर्छ ।’ उनले नगरमा थप सहकारी पनि थप्न नहुने सुझाव दिए । 

सहकारी शाखा प्रमुख भक्तिराज शर्माले नगरमा ८८ वटा सहकारी संस्था दर्ता रहेको बताए । उनले हालसम्म  विभिन्न सहकारीले करिब १९ करोड रुपैयाँ हिनामिना गरेको भनी निवेदन परिसकेको बताए । २०७४ मा सङ्घीय सरकारले सहकारी ऐन बनाएको छ ।

सोही ऐनलाई टेकेर नगरले पनि २०७५ सालमा सहकारी ऐन बनाएको छ । यता बोधिचित्त बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार लोकबहादुर थिङले सहकारीहरू बजारकेन्द्रित भएको भन्दै सहकारी दर्ताको स्वीकृति गरिदिन आग्रह गरे ।