बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.२४ अङ्क अर्थात् ३.६१ प्रतिशतले घटेर दुई हजार ७००.३२ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.६२ अङ्कले ओरालो लागेर ५११.६६ मा आएको छ । आजको कारोबारमा कूल २२७ कम्पनीको एक करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर पाँच अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ ।
जसमा बैंकिङ ४२.६६, व्यापार ६८.२३ होटेल तथा पर्यटन १०९.८९, विकास बैंक २०६.६६, जलविद्युत् १८४.८८, वित्त ११२.१४, निर्जीवन बीमा ५५२.५४, उत्पादन ३३५.७१, लघुवित्त १८६.३६, जीवन बीमा ६०४.८८, लगानी ४.८ अन्य ७३.२५ र सामूहिक लगानी कोष ०.१५ अङ्कले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आज अप्पर तामाकोसी कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको ३२ करोड ८४ लाख आठ हजार ९४४ बराबरको कारोबार भयो ।
यस्तै अरुणभ्याली हाइड्रोपावर २८ करोड ३९ लाख ४५ हजार ०८२, नेपाल इन्फ्रास्ट्रक्चर बैंक २५ करोड ३२ लाख ९२ हजार ४८७, नेसनल हाइड्रोपावर २५ करोड २७ लाख ९३ हजार १४६ र अपी पावरको २१ करोड ४७ लाख ५२ हजार ९६६ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहे भए ।
आजको कारोबारमा कूल २२७ कम्पनीमध्ये २२१ कम्पनीका शेयरमूल्य घटेका छन् । कारोबार भएकामध्ये अप्पर तामाकोसीको शेयरको मूल्य सबैभन्दा धेरै ९८.३७० प्रतिशतले घटेको छ ।
त्यस्तै यस दिनको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक ८.२६, शिवश्री हाइड्रोपावर ७.७५, विन नेपाल लघुवित्त वित्तीय संस्था ७.५९ र बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ७.५२ प्रतिशतले गुमाए ।