विजयपुर । धरान–११ का विभिन्न पार्टी परित्याग गरी २ सय जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र धरान–११ समितिले धरान–१९ हरियाली सामुदायिक वनको भवनमा एक कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराएको हो । केन्द्रका धरान–११ अध्यक्ष जीतराज राईका अनुसार नेपाली काङ्ग्रेसका ३७ जना प्रवेश गरेका छन् ।

काङ्ग्रेसको भातृ सङ्गठन तरुण दलका नगरसदस्य सुवास तामाङको नेतृत्वमा ३७ जना माओवादीमा प्रवेश गरेको राईले जानकारी दिए । त्यस्तै एमालेबाट २५ जना प्रवेश गरेका छन् । अध्यक्ष राईले एमालेबाट विवेक राईको नेतृत्वमा २५ जना प्रवेश गरेको बताए । विवेक युवा सङ्गठनको नगर सदस्य रहेका थिए ।

साथै लिम्बूवानसहित अन्य विभिन्न पार्टीबाट संयुक्त रुपमा १ सय ३० जना प्रवेश गरेको बताए । उनीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य किरण कुमार राईले प्रवेश गराएका थिए । उनले कार्यक्रममा माओवादी पार्टी विचार र  दृष्टिकोण भएको बताए ।

उनले भने, ‘आज एउटा पार्टीमा प्रवेश । भोली अर्को पार्टीमा प्रवेश गर्ने चलन छ । त्यो राम्रो होइन ।’ उनले नवप्रवेशीहरुलाई त्यसो नगरी जनताको सेवामा लाग्न आग्रह गरे । उनले फरक सन्र्भमा माओवादी पार्टीलाई द्वैध चरित्रको आरोप सुनियोजित रुपमा लगाइएको बताए ।

उनले राष्टघाती सन्धि रोक्नका लागि माओवादी सरकार, सडक र सदनमा रहेको बताए । उनले भने, ‘माओवादीको भुमिका नभएमा एमसीसी पास भइसक्थ्यो । द्वैध चरित्र होइन । माओवादीले गर्दा हालसम्म रोकिएको हो ।’ कार्यक्रममा केन्द्रका प्रदेश सदस्य मुक्समहाङ मेन्याङ्बो, आइन्द्रविक्रम बेघालगायतको उपस्थिति रहेको थियो ।

mm