धरान । धरानमा सम्पन्न एनसेल बाह्रखरी गल्फ प्रतियोगीताको उपाधी स्थानीय गल्फर राजकुमार राईले जितेका छन् ।

शनिबार एक कार्यक्रममा बीच प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले विजेता राजकुमारलाई ‘गोल्डेन बल’ उपाधि हस्तान्तरण गरे ।

धरान गल्फ क्लबमा शुक्रबार र शनिबार दुई दिनसम्म चलेको प्रतियोगितामा पहिलो दिन खेलेका राजकुमारले ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका थिए । पाँचौँ संस्करणको दोस्रो दिन खेलेका कुनै पनि खेलाडीले राजकुमारको भन्दा बढी स्कोर गर्न नसकेपछि राईले उपाधि जितेका हुन् ।

दुई ‘ह्यान्डी क्याप’ मा खेल्दै समग्रमा ५ बर्डी र २ बुगी खेलेका राजकुमारले ‘मोस्ट बर्डी’को उपाधि पनि जीते । ३७ स्टेबलफोर्ड स्कोर गरेका विराटनगरका खेलाडी सुयश प्याकुरेल दोस्रो स्थानमा रहन सफल भए । धरानका काजी राई र काठमाडौंका संगम केसीले पनि समान ३७ स्टेबलफेर्ड स्कोर गरेका थिए । सुयशले ‘ब्याक नाइन’मा १९ स्कोर गरेका थिए भने काजीले १८ र संगमले १६ स्कोर गरेका थिए ।

त्यस्तै स्थानीय खेलाडी सुन्दर राईले कुल ३६ ग्रस स्कोर जोड्दै ‘बेस्ट ग्रस’को उपाधि जिते । महिलातर्फ काठमाडौंकी सुस्मासिंह शाहले ३९ स्टेबलफोर्ड स्कोर गर्दै उपाधि जितिन् । धरानकी सुमित्रा लिम्बूले ३७ स्टेबल फोर्ड स्कोर गर्दै दोस्रो स्थान बनाईन् । महिलातर्फ सनराइज बैंककी डेपुटी सीईओ आरती राणाले ३५ अंक जोड्दै तेस्रो स्थान हासिल गरिन् ।

६० वर्षमाथिका खेलाडी तर्फ महेन्द्र मैनाली काउन्ट ब्याकमा विजयी भएका छन् । उनीसँगै अर्का खेलाडी भाइराजा पाण्डेले समान स्कोर गरे पनि काउन्ट ब्याकमा पछि परे । जोसेफ नाथनले ‘क्लोजेस्ट टु दी पीन’को उपाधि जिते । उनले बललाई होलको ५ फिट ५ इन्चनजिक राख्न सफल भएका थिए । त्यस्तै, संगम केसीले ‘लङ्गेस्ट ड्राइभ’को उपाधि जित्न सफल भए ।

प्रतियोगितामा पहिलो दिन ५२ र दोस्रो दिन ४२ गरी जम्मा ९४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये महिलातर्फ ९ खेलाडी थिए ।

कार्यक्रममा धरानका एकहाते गल्फ खेलाडी बलराम राईलाई विशेष सम्मान गरिएको थियो । शुक्रबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘टी अफ’ गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।