धरान । रोटरी क्लब अफ धरान घोपाले धरानका सामुदायिक विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘भिटामिन डी’ को खोप दिने भएको छ ।

भिटामिन डीको कमी हुँदा विभिन्न खाल्का रोगहरूले आक्रमण गर्ने भएकाले पनि गरिब तथा विपन्न अध्ययन गर्ने विद्यार्थीहरूलाई खोप दिन लागिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

भिटामिन डीको कमी भएमा मानिसलाई हृदयघात, वक्षस्थलको क्यान्सर, आन्द्राको क्यान्सर, मधुमेह, उच्चरक्तचापबाट जोगाउने पूर्व रोटरियन तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले जानकारी दिए । भिटामिन डीको कमी भएमा हाड कमजोर हुने रोगले पनि आक्रान्त बनाउने जनाइएको छ ।

बीपी प्रतिष्ठान हाडजोर्नी विभागसँगको सहकार्यमा क्लबले निःशुल्क रूपमा खोप दिन लागेको हो । धरानका ४९ वटा सामुदायिक विद्यालयका करिब १० हजार विद्यार्थीहरूलाई खोप दिन लागिएको रोटरी क्लबका अध्यक्ष तुलसी वस्तीले जानकारी दिए ।

रोटरीले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिँदै आएको उनले बताए । करिब साढे ६ लाख रुपैयाँ बराबरको खोप दिन लागिएको हो । उक्त रकम रोटरीका सदस्यहरूबाटै सङ्कलन गरेर दिन लागिएको कार्यक्रम संयोजक समेत रहेका प्रा.डा. श्रेष्ठले जानकारी दिए ।

‘हामीले आफ्नै सदस्यबाट रकम सङ्कलन गरेर खोप दिन लागेका छौ’ उनले पत्रकार सम्मेलनमा भने, ‘करिब डेढ लाख रुपैयाँ जति उठिसकेको छ । अब बाँकी पनि सदस्यबाटै सङ्कलन गर्ने भन्नेछ ।’ मितेरी विकास बैङ्कले पनि आर्थिक सहयोग गर्ने भएको छ । उनका अनुसार प्रतिष्ठानमा आउने बिरामीमध्ये ८० प्रतिशतमा भिटामिन डीको कमी हुने गरेको छ । यो गम्भीर सङ्केत रहेको उनले बताए ।

भिटामिन डी कमी हुनु धेरै रोगका कारकमध्येको एक रहेकाले पनि विपन्न तथा गरिबहरू अध्ययरत सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई खोप दिन लागिएको हो । भिटामिन डीको कमी भएमा मानसिक रोग, हड्डीसम्बन्धी रोग, मुटु रोग, क्यान्सलाई बचाउने काम गर्दछ ।