सुनसरी । स्थानीय तहको निर्वाचनको मिति तोकिएपछि सुनसरीका जनप्रतिनिधिहरूले पुरानो पार्टी छाड्ने क्रम सुरु भएको छ ।सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि सुनसरीका राजनीतिक दलहरू गाउँ–गाउँ धाउन थालेसँगै निर्वाचित जनप्रतिनिधिहरूले पुरानो पार्टी छाड्ने क्रम बढेको हो ।

यसै क्रममा शनिबार हरिनगर गाउँपालिका वडानम्बर ३ का अध्यक्ष अरविन्द्र मेहताको नेतृत्वमा २ सय २५ जना नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । आइतबार कोसी गाउँपालिका वडानम्बर ७ का अध्यक्ष रामचन्द्र महतो कोइरीको नेतृत्वमा ३ सय ७४ जना काङ्गे्रसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव जुगेश्वर यादवले जानकारी दिए ।

‘घर–घर जाऔं, नेपाली काङ्ग्रेस जिताऔं अभियान’ अन्तर्गत कोसी गाउँपालिका–७ हरिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मेहता कोइरीको नेतृत्वमा जसपा नेपाल, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) परित्याग गर्दै ३ सय ७४ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेको उनको भनाइ छ ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सङ्घीय सांसद् तथा नेपाल सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले स्वागत गरे ।

जिल्लाका राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिरहेको समयमा २०७४ सालको स्थानीय तह निर्वाचनमा आफूले जितेको पार्टी परित्याग गर्दै पार्टी परिवर्तन गर्नुलाई अर्थपूर्ण तवरले हेरिएको छ । आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति सरकारले घोषणा गरेपछि यहाँका राजनीतिक दलहरूले गाउँकेन्द्रित कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।

वडा–वडामा कार्यक्रम गर्दै मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी नेपाललगायतका राजनीतिक दलहरूले आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै अन्य दलका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा ल्याउन सक्रिय देखिएका छन् । चुनावको मिति नजिकिँदै जाँदा विभिन्न दलका नेता कार्यकर्ता गाउँ पस्न थालेपछि विस्तारै चुनावी माहोल बनिरहेको छ ।

सुनसरी क्षेत्र नम्बर ४ बाट आफू निर्वाचित भएपछि आफ्नो पहलकदमीमा भएको विकास निर्माण कार्यबाट सर्वसाधारण जनताको काङ्ग्रेसप्रति क्रेज बढेको मन्त्री कार्कीले बताए । तीन दिनसम्म आफ्नो निर्वाचन क्षेत्रको विभिन्न कार्यक्रममा सहभागी भएर फर्किने क्रममा आइतबार साँझ उनले भने, ‘नेपाली काङ्ग्रेस भाषण होइन, काम गर्ने पार्टी हो; त्यसैले हाम्रो नेतृत्वमा भएका विकास निर्माण कार्यबाट प्रभावित भएर हजारौंको सङ्ख्यामा सर्वसाधारण काङ्ग्रेस प्रवेश गरिरहेका छन् ।’

दिगो विकासका लागि देशमा काङ्ग्रेसबाहेक अर्को कुनै विकल्प नभएकोले आगामी निर्वाचनबाट स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहको निर्वाचनमा काङ्ग्रेसी उम्मेदवारहरूलाई जिताउनु पर्नेमा मन्त्री कार्कीको जोड छ । गत स्थानीय तह निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट टिकट लिएर चुनाव जितेका कोसी–७ का वडाध्यक्ष कोइरीले अन्य पार्टीभन्दा नेपाली काङ्ग्रेस जनताका समस्याप्रति गम्भीर हुनुका साथै आफ्नो विचारसमेत काङ्ग्रेससँग मिल्ने भएकाले आफू काङ्ग्रेसमा प्रवेश गरेको उनले बताए । आफू विधि र विधानमा अडिग भएर काङ्ग्रेस पार्टीमार्फत् जनभावनाको कदर गर्दै काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

सोही कार्यक्रम बोल्दै नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले नेपाली काङ्ग्रेस पार्टीले सबैलाई एकै नजरले हेर्दै विकास निर्माण कार्यलाई निरन्तरता दिइरहेको हुँदा काङ्ग्रेसप्रति सर्वसाधारण जनताको क्रेज बढ्नु स्वभाविक भएको दाबी गरे । ‘हामी भाषण मात्रै गर्दैनौं, काम गर्छौं’ उनले भने, ‘जनतालाई भाषण होइन, काम चाहिएको छ । त्यसैले काम गर्नेप्रति जनताको क्रेज बढ्नु स्वभाविक हो ।’

सोही कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस इनरुवा नगर कार्य समितिका सभापति तथा इनरुवा नगरप्रमुख राजन मेहताले आगामी स्थानीय तह निर्वाचनमा मतभेद नराखी कामको मूल्याङ्कन गर्दै टिकट वितरण गरे सुनसरीका १२ वटै स्थानीय तहमा काङ्ग्रेसी उम्मेदवार विजयी हुने दाबी गरे ।