विराटनगर । प्रदेश १ का नामकरण नगरि प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । सार्वजानिक कार्यक्रमहरूमा मुख्यमन्त्री राजेन्द्र राईले हिउँदे अधिवेशनबाट प्रदेशको नामरण गर्ने उदघोष गर्ने गरेका थिए । तर, हिउँदे अधिवेशन एउटा विधेयक पारित गरेर अन्त्य भएको हो ।
प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाउँदै उपसभामुख सरस्वती पोखरेलले आइतबार राति १२ बजेदेखि लागुहुने गरी अधिवेशन अन्त्य गरेको घोषणा गरिन् ।
असोज २२ गते सुरु भएको नवौं तथा हिउँदे अधिवेशनले आठौं अधिवेशनमा प्रदेशसभामा दर्ता भई छलफलमा रहेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक पारित गरेको थियो । यस अधिवेशनमा सरकारले प्रदेश मिडिया व्यवस्थापन सम्बन्धी विधेयक टेबल गराएको थियो । विधेयक सैद्धान्तिक छलफलकै क्रममा छ ।
दलका नेताहरुको शुभकामना मन्तव्यसहित असोज २२ गते सुरु भएको नवौं तथा हिउँदे अधिवेशनमा १२ वटा बैठक चलेको थियो । बैठकमा ९ घण्टा ४२ मिनेट छलफल भएको थियो । बैठकको शून्य समयमा ३१ जना सांसदहरुले बोलेका थिए भने पाँच जना सांसदहरुले विशेष समय लिएर बोलेका थिए । हिउँदे अधिवेशनकै क्रममा मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

नामकरणका लागि दलहरुबीच छलफल चलाउने प्रतिवद्धता गरेको सरकारले यस अवधिमा एउटा छलफलबाहेक थप प्रगति गरेन । प्रदेशसभाका सभामुखले पनि नामकरणका सम्बन्धमा कुनै उल्लेख्य पहल गरेनन् ।
प्रदेश सभाको हिउँदे अधिवेशनमा सकेसम्म प्रदेशको नाम टुंग्याउने, त्यो सम्भव नभए नामको विषय संसदमा प्रवेश गराउने प्रतिवद्धताविपरीत प्रदेश सरकारले संसद अधिवेशन टुंग्याएको बुझिएको छ ।
गएको दसैंअघि नै सुरू भएको संसद्को हिउँदे अधिवेशन तत्कालीन मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन आह्वान गरेका थिए । उनले विश्वासको मत नलिई राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए ।
पाँच दलीय गठबन्धनको नेतृत्व गरेर मुख्यमन्त्री बनेका राई र गठबन्धनका अन्य नेताहरू सबैले हिउँदे अधिवेशनबाट नामकरण टुंगो लगाउने बताउँदै आएका थिए । यसबीचमा नामकै विषयमा सर्वपक्षीय एउटा छलफल आयोजना गरेको सरकारले मन्त्रीको नेतृत्वमा नामबारे संवाद समिति पनि बनाएको छ ।
यद्यपी नामकरणको मुद्दा संसदमा प्रवेश गराउने काम भने सरकारले गरेन । सत्ता गठबन्धनका नेताहरुले नामका बारे अझै छलफल जारी रहने र सहमतिका आधारमा बर्खे अधिवेशनमा नामकरण टुंग्याउने बताएका छन् ।