धनकुटा । धनकुटामा सत्तारुढ गठबन्धन दलहरूले ‘एमालेविरुद्ध मोर्चाबन्दी’ थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सत्तारुढ दलमा रहेका नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच मोर्चाबन्दी भएको हो ।

तर, यहीबीचमा एमालेलाई माओवादीले तीनवटा स्थानीय तहमा उपाध्यक्ष पद मागेको एमालेका नेताले दाबी गरेका छन् । एकातिर मोर्चाबन्दी अर्कोतिर पद माग्ने हल्लाले माओवादीको असली चरित्रलाई उदाङ्गो पारेको छ । माओवादीका नेताहरूले ‘राजनीतिमा जे पनि हुनसक्ने’ भन्दै वक्तव्यबाजी गरिरहेका छन् ।

नेकपा (एमाले) धनकुटाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादीले तीन वटा स्थानीय तहमा उपाध्यक्ष पद मागेको एमाले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीले बताए । उनले भने, ‘नेकपा (माओवादी केन्द्र) धनकुटाले जिल्लाको चौबिसे गाउँपालिका, सहिदभूमि गाउँपालिका र छथरजोरपाटी गाउँपालिकामा उपाध्यक्ष पद मागेको छ ।’

उनले माओवादीले कुनै पनि हालतमा धनकुटामा गठबन्धनलाई साथ नदिने भन्दै धनकुटाको गठबन्धन तोडिएको ठोकुवासमेत गरे । अध्यक्ष पराजुलीले धनकुटामा गठबन्धन नै भए पनि एमालेको लागि भुसुना सावित हुने ठोकुवा गरे । ‘जनयुद्धकालको आलो घाउले अझै पनि नेपाली काङ्ग्रेसलाई पोलिरहेको अवस्थामा कसरी भोट दिन्छन् माओवादीलाई’ भन्दै अध्यक्ष पराजुलीले प्रश्न गरे ।

नेकपा (माओवादी केन्द्र) का धनकुटा इन्चार्ज हेमराज भण्डारीले चारदलीय गठबन्धनबाट माओवादी अलग्गिने भन्ने विषयमा हालसम्म छलफल नभएको बताए । ‘एमालेका साथीहरूलाई मनमनै के के भन्न मन लाग्छ भन्छन् नि तर, गठबन्धन तोड्ने विषयमा छलफल अघि बढेको छैन’ उनले भने, ‘राजनीति हो, परिस्थिति अनुकूल भयो भने केही भन्न सकिन्न ।’ आफू जिल्लाबाहिर रहेको बताउँदै केही दिनमा धनकुटा आएपछि यी विषयमा टुङ्गो लाग्ने भण्डारीले बताए ।