धरान । नेकपा (एमाले) धरान उपमहानगर कमिटीले आइतबार जिल्ला र प्रदेश कमिटीमा प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको जम्बो नामावली सिफारिस गरेको छ ।
स्थानीय तहको चुनावी चहल–पहल बढेसँगै धरान उपमहानगरमा नेकपा (एमाले)बाट प्रमुख र उपप्रमुख पदको आकाङ्क्षीहरूको लस्कर लागेपछि उपमहानगर कमिटीले कुनै ‘रिस्क’ नमोली जम्बो नामावली सिरफारिस गरेको हो । प्रमुख र उपप्रमुखमा बढीमा ४ जनाको नाम सिफारिस गर्नुपर्ने नीति भए तापनि आकाङ्क्षीहरूले उपमहानगर कमिटीलाई आफ्नो नाम पनि सिफारिसमा पार्न दबाव दिएपछि ११ जना प्रमुख र ६ जना उपप्रमुखको नाम सिफारिस गरेको छ ।
एमालेका लागि धरानको स्थानीय तहको निर्वाचन पुरानो साख फर्काउने अवसरको रूपमा रहेको छ भने काङ्ग्रेसले ०७६ मङ्सिरको उपनिर्वाचनको नतिजा दोहो¥याउँदै इतिहास कायम राख्ने अवसरको रूपमा लिएको छ ।
यसैबीच काङ्ग्रेससहितको गठबन्धन दलले उम्मेदवार छनौटमा सहमति जुटाउन नसकिरहेको बेला एमालेले पनि सर्वसम्मत सहमतिमा उम्मेदवार चयन गर्न नसकेपछि जम्बो नामावली सिफारिस गरेर उपमहानगर कमिटीले आफ्नो भूमिका निर्वाह गरेको छ ।

उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर उपमहानगर कमिटीको आइतबार बसेको पूर्ण बैठकले पूर्व नगर प्रमुखसमेत रहेका प्रदेश सदस्य मनोजकुमार मेन्याङ्बो, जिल्ला सदस्य तथा पूर्व उपप्रमुख मीनकुमार सुब्बा, केन्द्रीय सदस्यसमेत रहेकी बहालवाला उपप्रमुख मञ्जु भण्डारी, प्रदेश सदस्य दोर्पध्वज राई, प्रदेश सदस्य किशोरकुमार कार्की, प्रदेश सदस्य प्रकाश राई, नगर इन्चार्ज नारायण सुवेदी, प्रदेश सदस्य मोतीराज सुनुवार, जिल्ला सदस्य राजमणि निरौला, प्रदेश सदस्य विजय राई र पूर्व जिल्ला कमिटी सदस्य तीर्थ मास्केको नाम सिफारिस गरेको छ ।
उपप्रमुखको उम्मेदवारमा पनि सहमति नजुटेपछि जिल्ला सदस्य पदम इस्वो लिम्बू, प्रदेश सदस्य लहरु जिमी, जिल्ला सदस्य सविता राई चाम्लिङ, जिल्ला सदस्य लीला राई, प्रदेश सदस्य सुशीला पहाडी, जिल्ला सदस्य इन्द्रकला राईको नाम सिफारिस गरिएको एमाले धरानले जनाएको छ ।
नगर कमिटीले यी नामहरू जिल्ला र प्रदेशमा पठाइसकेको छ । प्रदेश कमिटीले टिप्पणीसहित केन्द्रमा पठाउनेछ । एमाले स्रोतका अनुसार एमालेले उपमेयर उम्मेदवारमा एक पुरुष पदम इस्वो लिम्बूको नाम पनि सिफारिस गर्नुले मञ्जु भण्डारीले टिकट पाएमा सहज हुने गरी नाम पठाएको हो । प्रमुख पदको उम्मेदवार सिफारिसमा परेकी मञ्जु भण्डारी पार्टी अध्यक्ष केपी ओली निकटकी मानिन्छन् भने उपप्रमुखमा सिफारिस भएका एक मात्र पुरुष पदम इस्वो लिम्बू १० बुँदे पक्षधरका हुन् ।
पार्टीको केन्द्रीय कमिटीले मञ्जुलाई टिकट दिएमा १० बुँदे पक्षका इस्वोलाई उपमेयरमा टिकट दिएर सन्तुलन मिलाउने प्रयास गरिएको एमाले स्रोतले जनाएको छ । एमालेलाई स्थानीय तहको चुनावमा धरानमा जित्न गठबन्धन दल र तिनका उम्मेदवारलाई चुनौती दिने बलियो नेता उम्मेदवारको आवश्यकता भएको छ ।
यसबीचमा ०४९ र ०५४ मा एमालेबाट विजयी भएर जनप्रतिनिधिको रूपमा ‘टेष्ट’ भएर सफलतापूर्वक दुवै कार्यकाल पूरा गरेका पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोको नाम पनि सिफारिस हुनुले अन्य आकाङ्क्षीको तुलनामा टिकट पाउने बलियो सम्भावना भएकी मञ्जु भण्डारीलाई चुनौती थपिएको छ ।
वडाध्यक्षहरूमा वडा नं. २ बाट रमेश राई, ७ बाट जीवन सुवेदी, ९ बाट शिव राई, १२ बाट टङ्क राई, १३ बाट नेत्र काफ्ले, १४ बाट उत्तम आले र १९ बाट पूर्ण लिम्बू सर्वसम्मत सिफारिस भएका छन् । १३ का काफ्ले र १९ का लिम्बू बहालवाला वडाध्यक्ष हुन् । अरू वडाहरूमा केही दिनभित्र सर्वसम्मत वा आएका नामहरू जिल्ला र प्रदेशमा सिफारिस गर्ने तयारी भएको एमाले धरान नगरकमिटीले जनाएको छ ।
एमालेलाई हराउने नीति लिएको गठबन्धन दलहरू काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाबीच भने धरानमा प्रमुख, उपप्रमुख र वडाध्यक्ष र वडासदस्य पदको साझा उम्मेदवार उठाउने विषयमा सहमति हुन नसकेकाले आन्तरिक समस्यामा अल्झिएको छ ।
काङ्ग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङले भने, ‘उम्मेदवारका आकाङ्क्षीहरू धेरै छन्, सहमति जुटाउने प्रयास भइरहेको छ ।’उनले वडा तहमै उम्मेदवारको नाममा सहमति जुटाउने विषयमा समस्या रहेको बताए ।
धरानमा काङ्ग्रेसले प्रमुख पद आफै राखेर माओवादी केन्द्रलाई उपप्रमुख पद दिने तयारी गरे पनि सहमति जुट्न सकेको छैन । प्रमुख पद माओवादीले पनि दाबी गरिरहेको छ ।