सुनसरी । स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै नगर र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखमा महिलाहरू पनि आकाङ्क्षी देखिएका छन् ।

२०७४ सालको निर्वाचनमा उपप्रमुखमा जितेका कतिपय महिलाले यसपटक प्रमुखमा लड्ने अडान लिएका छन् भने लामो समयदेखि विभिन्न सङ्घ–संस्थासँगै सक्रिय राजनीतिमा रहेका महिलाहरूले पनि यसपटक आफूहरूले अवसर पाउनुपर्ने दाबी गरेका छन् । सुनसरीको इनरुवा नगरपालिका, कोसी, भोक्राहा–नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु, गढीसहितका गाउँपालिकामा यसपटक विभिन्न सङ्घ–संस्थामा नेतृत्व गरेका, समाजसेवीसँगै राजनीतिमा संलग्न महिलाहरूले दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

सक्रिय राजनीतिका साथै विभिन्न सङ्घ–संस्थामार्फत् समाजसेवामा लागेकी विनिता दाहाल र सहजादी प्रवीण यसपटक नेपाली काङ्ग्रेसको तर्फबाट इनरुवा नगरपालिकाको उपप्रमुख पदका लागि लबिङ गरिरहेका छन् भने नेकपा (एमाले)को तर्फबाट विगत लामो समयदेखि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ–संस्थामार्फत् समाजसेवासँगै सक्रिय राजनीतिकर्मीसमेत रहेकी सरिता कार्की घिमिरेको दाबेदारी छ ।

यस्तै इनरुवा नगरपालिकाको उपमेयरमा अघिल्लो निर्वाचनमा पराजित भएकी तोया गिरी पौदार नेकपा (माओवादी केन्द्र) को तर्फबाट पुनः सोही पदमा उम्मेदवारी दिने तयारीमा छिन् ।

यस्तै २०७४ सालको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट टिकट पाएर उपाध्यक्षमा निर्वाचित भएकी पुनमकुमारी मेहताले यसपटक भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा दाबी गरिरहेकी छन् । नेपाली काङ्ग्रेसको तर्फबाट कोसी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित अनितादेवी यादव यसपटक सोही पदमा दोहोर्याउने मनसायमा छिन् ।

१४ औं महाधिवेशनबाट नेपाली काङ्ग्रेस इनरुवा नगर कार्य समितिको उपसभापतिमा निर्वाचित विनिता दाहालले उपप्रमुख पदमा दाबी गरिरहेकी छन् । सदरमुकाम  इनरुवामा बसोबास गर्ने उनी विगत लामो समयदेखि सक्रिय राजनीतिका साथै समाजसेवामार्फत् सर्वसाधारणमा सचेतना फैलाउने काम गर्दै आएकाले यसपटक पार्टीले कामको मूल्याङ्कन गर्नेमा दाहाल आशावादी छिन् । २० वर्षको कलिलो उमेरदेखि राजनीतिक यात्रा थालेकी उनी आफूलेमहिला उत्थान गर्ने कार्यक्रम गर्दै आएको बताइन् ।

आउँदो स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्र्रेस पार्टीको तर्फबाट इनरुवा नगरपालिकाको उपमेयर पदमा दाबी गर्ने अर्को नाम हो इनरुवा नगरपालिका–९ बबियाकी सहजादी प्रवीण । १४ औं महाधिवेशनबाट नेपाली काङ्ग्रेस पार्टीको जिल्ला सदस्य पदमा निर्वाचित भएकी उनले आगामी निर्वाचनमा आफू इनरुवा नगरपालिकाको उपमेयरको दाबेदार भएको बताएकी छन् ।

ग्रामीण भेगबाट दर्जनौं महिलाहरूलाई विभिन्न सङ्घ–संस्थामार्फत् आत्मनिर्भर बनाउन सफल भएको दाबी गर्ने उनी यसपटकको निर्वाचनमा आफ्नो दाबी स्वभाविक भएकोले पार्टीले अवसर दिनेमा विश्वस्त छिन् । सदरमुकाम इनरुवादेखि दक्षिणी भेगमा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बबिया गाउँमा सहजादीसँगै उनकी छोरी अल्बिना प्रवीणको संयुक्त प्रयासले समाजमा बालविवाह, दाइजो र महिला हिंसासम्बन्धी सचेतना बढेको स्थानीय बताउँछन् ।

नेकपा (एमाले)बाट इनरुवा नगरपालिकाको उपमेयर पदमा दाबी गर्ने सरिता कार्की घिमिरे यसपटक प्रबल दाबेदारका रूपमा देखिएकी छन् । आफू विद्यार्थी जीवनकालदेखि नेकपा (एमाले) मा आबद्ध हुनुका साथै सक्रिय रूपमा विभिन्न सङ्घ–संस्थाहरूमार्फत् सदरमुकाम इनरुवादेखि ग्रामीण क्षेत्रका सर्वसाधारणहरूलाई जागरुक बनाउने कार्य गर्दै आएको घिमिरे बताउँछिन् ।

समाज र पार्टीमा आफ्नो कामको मूल्याङ्कन गर्दै पार्टीले आफूलाई जिम्मेवारी दिएको अवस्थामा जिम्मेवारी पूरा गर्न तयार रहेको उनको कथन छ । त्यस्तै जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकामा तत्कालीन फोरम नेपालबाट उपाध्यक्ष पदमा विजयी पुनमकुमारी मेहताले यसपटक अध्यक्ष पदमा दाबी गरेकी छन् ।

उपाध्यक्षसँगै अध्यक्षको अनुपस्थितिमा आफूले सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेकाले अध्यक्ष पदमा आफ्नो दाबी अस्वभाविक नभएको उनको तर्क छ । यता गत निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित कोसीकी अनितादेवी यादव, हरिनगरकी रिमझिम भगतलगायतले पुनः सोही पदमा टिकट पाउन लबिङ गरिरहेका छन् ।