विराटनगर । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएका छन् । साझेदार दलहरूले आ–आफ्नो दाबी नछोड्दा मोरङको पालिका तहको प्रमुख र उपप्रमुखमा भागबण्डा गर्न सकस भइरहेको हो ।
मोरङमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी स्थानीय तहमा उम्मेदवारको भागबण्डा मिलाउन पटक–पटक बैठक बसेका छन् । तर, हालसम्म भागबण्डामा कुरा मिलेको छैन । गठबन्धनका दलले आ–आफ्नै दाबी बैठकमा प्रस्तुत गरिसकेका छन् ।
गठबन्धन दलबीच औपचारिक अनौपचारिक रूपमा पटक–पटक बैठक र छलफल भइरहे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ । लगातार बैठक र छलफल गरिरहेका चार दलका नेताबीच जिल्लाका पालिकाहरूमा गठबन्धन गर्ने विषयमा सहमति जुट्न नसकेको हो ।
नेपाली काङ्ग्रेसका मोरङ उपसभापति भक्ति माझीले पहिले जितेका पालिकाहरू नछाड्ने भन्ने नीतिअनुरूप आफ्ना कुरा राखेको बताए । ‘सत्ता साझेदार दलका अन्य प्रतिनिधिहरूले आफ्नो दाबी प्रस्तुत गर्नुभयो । मैले आफ्नो पार्टीको बटम लाइन भनेँ । तर, यसै गर्ने भन्ने विषयमा सहमति हुन सकेन’–उनले भने ।

नेकपा (माओवादी केन्द्र)का संयोजक विजय विश्वासले गठबन्धन दलका बीच निरन्तर बैठक छलफल भइरहे पनि सहमति जुट्न नसकेको बताए ।
०७४ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेस मोरङका १७ मध्ये नौ पालिकामा विजयी भएको थियो । फोरम लोकतान्त्रिकसमेत काङ्ग्रेसमा मिलेपछि अहिले १० पालिकामा काङ्ग्रेसको बहुमत छ ।
शनिबारको छलफलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका तर्फबाट पालिकामा गरिएको दाबीअनुसार कुन पालिका दिने वा लिने भन्नेमा सहमति जुट्न नसकेको माझीले बताए । ‘अब जिल्लाको मूल गठबन्धनको फेरि छलफल गर्ने तयारी थालिएको छ’–उनले भने ।
छलफलमा माओवादी केन्द्रका मोरङ संयोजक विजय विश्वास, एकीकृत समाजवादीका उद्धव पोखरेल र जसपाका जिल्ला अध्यक्ष राजकुमार यादव सहभागी थिए । उनीहरूले तालमेलका विषयमा सहमति जुटाउने प्रयास गरेका हुन् ।
मोरङमा एक महानगर, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ स्थानीय तह छन् । विराटनगर महानगरपालिका, नगरपालिकातर्फ रतुवामाई, लेटाङ, सुनवर्षी, उर्लाबारी र सुन्दरहरैँचामा काङ्ग्रेसले जितेको थियो । यसैगरी गाउँपालिकातर्फ कटहरी, केराबारी र धनपालथानमा विजयी भएको थियो ।
बूढीगङ्गा गाउँपालिकामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विजयी भएको थियो । अहिले त्यो पार्टी काङ्ग्रेसमा मिलिसकेको छ । एमालेले बेलबारी र पथरीशनिश्चरे नगरपालिका, मिक्लाजुङ, ग्रामथान र कानेपोखरी गाउँपालिकामा जितेको थियो । रङ्गेली नगरपालिकामा माओवादी केन्द्र विजयी भएको थियो । जहदा गाउँपालिकामा उपेन्द्र यादव नेतृत्वको जसपा विजयी भएको थियो ।