धरान । चिनीको मूल्य एक्कासि २० रुपैयाँ बढाइएको छ । खुद्रा बजारमा यसअघि ९० रुपैयाँ प्रतिकेजी पाइने चिनी अब भने १ सय १० रुपैयाँ पर्ने भएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँ रहेकोमा २० रुपैयाँ प्रतिकेजी बढाइएको हो । सङ्घले सरकारले आफ्नो स्वामित्वको संस्थालाई चिनी ल्याउन नदिएपछि व्यापारीले आफूखुसी ल्याउँदा १० रुपैयाँ बढेको थियो । यतिबेला सरकारले चिनी निर्यातमा रोक लगाएपछि थप १० रुपैयाँ बढाइएको हो ।

अहिले विश्व बजारमध्ये केही बजारमा भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । भारतले युरोपेली राष्ट्रबाहेकमा चिनी निर्यात नगर्ने भएको छ । यसकारणले पनि नेपालमा चिनीको मूल्य बढ्ने यसअघि नै आशङ्का गरिएको थियो ।