भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रमका लागि ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । 

भद्रपुर नगरपालिकाको ११ औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत गर्दै उपप्रमुख राधा कार्कीले आर्थिक विकासतर्फ ३ करोड ५१ लाख, सामाजिक विकासतर्फ ३२ करोड ६० लाख ७३ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८३ लाख ५० हजार, संस्थागत विकास÷सेवा प्रवाह÷सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १६ करोड ४५ लाख र पूर्वाधार विकासतर्फ ३७ करोड ९४ लाख गरी ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको बताइन् । 

चालू आर्थिक वर्ष २०७८।०९८ मा नगरपालिकाको बजेट ८३ लाख १३ लाख २ हजार रहेको थियो । आगामी आर्थिक वर्षका लागि ८ करोड २१ लाख २१ हजार बजेट बढी ल्याएको छ । 

ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ५ करोड १५ लाख, योजनामा जनसहभागिताबाट २ करोड ७ लाख, राजस्व बाँडफाँडतर्फ सङ्घबाट १२ करोड ६८ लाख ६२ हजार,  प्रदेशबाट ८० लाख, स्थानीयबाट ४ करोड ६३ लाख ५३ हजार गरी राजस्व बाँडफाँडबाट जम्मा १८ करोड १२ लाख १५ हजार, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समीकरण अनुदानबाट २१ करोड ३४ लाख ८५ हजार, समपूरक अनुदानबाट २ करोड,  सशर्त अनुदानबाट २९ करोड १५ लाख २३ हजार,  विशेष अनुदानबाट २ करोड ५० लाख गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ४५ करोड ८ हजार रहेको छ ।