धनकुटा । धनकुटास्थित फनपार्कले सञ्चालन गरेको पोखरीमा डुबेर दुईजना बालकको शनिबार ज्यान गएको छ ।
धनकुटा नगरपालिका–६ पात्लेखोलास्थित धनकुटा एग्रो टुरिजम फन एन्ड भ्यालीले आन्तरिक पर्यटकका लागि सञ्चालनमा ल्याएको बोटिङ गर्ने पोखरीमा डुबेर दुई बालकको ज्यान गएको हो । बालकको ज्यान गएपछि पीडित पक्ष न्याय खोज्दै प्रहरी कार्यालय पुगेका छन् ।
पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–५ का १३ वर्र्षीय सोनिम राई र धनकुटा नगरपालिका–२ का १४ वर्र्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बेहोस भएका दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सोनिम र उदयसँगै गएका धनकुटा नगरपालिका–५ का १६ वर्षीय सुदेश राई भने सकुशल रहेका छन् । मृतकमध्ये उदयको शनिबार जन्मदिन रहेको थियो ।
मृतकद्वय र सुदेश टुँडिखेलमा भेला भएर ९ बजेसम्म फुटबल तालिम गरेका बाँच्न सफल सुदेशले सुनाए । त्यसपश्चात् मृतक उदय राईको घरमा गएर १० बजे खाना खाएको र हिँड्दै आफूहरू १२ बजे पोखरीमा पुगेको उनले बताए । उनका अनुसार सुरुमा सोनिम डुबेपछि उसलाई तान्न जाँदा उदय पनि डुबेको बताए ।

दुवैजना पौडी खेल्ने क्रममा पोखरीमा हराएपछि बाहिर रहेका सुदेशले स्थानीयलाई खबर गरेका थिए । खबर गरेलगत्तै स्थानीय पायल राई र दिनेश राईले डुबेका दुवै बालकलाई निकालेका थिए । दुवै जनालाई निकालेपछि उपचारको लागि धनकुटा अस्पताल ल्याइएको र उपचारको क्रममा उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनीहरूको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । डुबेर मृत्यु भएका उदय धनपा–५ तल्लो गोकुण्डेश्वर माविमा कक्षा–७ मा अध्ययनरत थिए भने सोनिम माथिल्लो गोकुण्डेश्वरमा कक्षा–८ मा अध्ययनरत थिए । घटना घटेका बेला फनपार्क रेखदेखका लागि बसेका कर्मचारी पवन भण्डारीले आफू त्यहाँ नभएको बताए । उनले आफू नभएको बेला बालकहरू पोखरीमा खेल्न गएको बताएका छन् ।
अर्का कर्मचारी नितेश पराजुलीले पनि आफन्तको मृत्यु भएर आफू मलामी गएको बताए । उनले जेठदेखि पोखरी प्रवेश बन्द गरेर माछा पालन गर्दै आएको बताए । भ्याली सञ्चालक समितिका अध्यक्ष गोपाल गुरागाईंले घटना अकल्पनीय भएको बताए । उनले फनपार्कमा जिम्मेवारी दिएर राखेका कर्मचारीहरू र व्यवस्थापनबाट कमी कमजोरी भएको स्वीकारे ।
स्थानीयले भने फनपार्क सञ्चालकको गम्भीर लापरबाहीले गर्दा घटना घटेको बताएका छन् । घटनाको सम्बन्धमा शनिबार साँझ फनपार्क सञ्चालक पक्षका गोपाल गुरागाईं, डम्बरबहादुर काफ्लेसँग जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षसमेत बसी वार्ता भए पनि निष्कर्षहीन बनेको छ ।
आज (आइतबार) बिहान पुनः बस्ने गरी वार्ता टुङ्गिएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले फनपार्क सञ्चालक समितिको गम्भीर लापरबाही देखिएको बताए । उनले भने, ‘बन्द गरेको हो भने पूर्ण बन्द भएको सूचना टाँस गर्नुपर्दथ्यो, सञ्चालन गरिरहेको हो भने जिम्मेवारपूर्वक सञ्चालन गर्नुपथ्र्यो ।’ उनले यस विषयमा सरोकारवालाबीचमा छलफल गरिने बताए । उनले पीडित पक्षको दरखास्त कसरी आउँछ, त्योअनुसार कारबाही अगाडि बढ्ने बताए ।
यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार धनकुटा जिल्लामा आ.व.०७८/७९ मा शनिबारको घटनासहित ६ जनाको मृत्यु भएको छ । यसअघि चौबिसे गाउँपालिका–२ मुडेबासमा मानव निर्मित माछा पोखरीमा डुबेर २ जना, अरुण नदीको लेगुवाघाटमा १ जना र तमोर नदीको विश्रान्तीमा १ जना गरी ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।