इनरुवा । सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ ।
बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्णरूपमा रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएकोे छ ।
नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोसीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ । साथै उसले सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको समेत जनाएको छ । यद्यपि प्रशासनले नदीको बहाव बढ्दो क्रममा देखिए तापनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको जनाएको छ ।
कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार अघिल्ला दिनसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टायता भने बढ्दो क्रममा रहेको छ । पूर्वी भेगमा जारी अविरल वर्षा सँगै कोसी नदीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

नदीको बहाव बढ्दो क्रममा रहे पनि सबै तटबन्ध तथा स्परहरू सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । उनले कहीँ कतै स्पर कटानको खबर जानकारीमा नआएको बताए । प्रजिअ यादवले तटीय क्षेत्रका बासिन्दालाई भने सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
समाचार तयार पार्दै गर्दासम्मको मापन अनुसार सप्तकोसी नदीमा पानीको बहाव १ लाख २८ हजार २ सय २५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका १९ ढोका खोलिएका छन् । ब्यारेज नियन्त्रण कक्षले राति अझै कोसी नदीको बहाव थप बढ्न सक्ने अनुमान गरेको छ ।